जीवनका केही क्षणहरूलाई, केही काललाई हामी अध्याय भन्छौँ, यसर्थमा जीवन एउटा काव्यको रूपमा परिभाषित हुनपुग्छ । जीवन बाँच्नु भनेको काव्य बाँच्नु र एउटा काव्य निर्माण सँगसँगै गर्नु हो । हाम्रा पुराना काव्यचिन्तकहरूले वीर,श्रृङ्गार जस्ता रस काव्यमा प्रधान हुनुपर्छ भनेका छन् ।वीर श्रृङ्गार मात्रै नभएर करुण पनि प्रधानरस हुनसक्छ काव्यमा भनेर ‘उत्तररामचरित’ साहित्याकाशमा उदाएन मात्रै, अत्यन्त चहकिलो नक्षत्र भएर बसिरह्यो ।
मैले बाँचिरहेको जीवनमा वीर/करूण रसको प्रधानताले श्रृङ्गारलाई कल्यापकुलुप पारेको छ । बुबा भन्नुहुन्छ ‘व्याकरण पढेको भएपनि बोल्दा साहित्य बोल्ने गर्’ तर म साहित्य बोल्न सकिनँ । मलाई अर्धमात्रा लाघव हुँदा पुत्रोत्पन्नको खुशी प्राप्त हुन्छ, म साहित्य बोल्ने कुरै आउँदैन ।
म जीवन-काव्यको पछिल्लो अध्यायमा कलाप्रति आकर्षित मनोभावनाले डोर्याएर कलापथमा अग्रसर भएको पाइरहेको छु । कलापथमा आवृत्त हुनुको अन्तर्य कलाको सीर्जना मात्रै नभएर त्यसको हार्दिक स्वागत र अभ्यर्थना पनि हुनसक्छ भन्नेकुरा पक्कै पनि मेरा पाठकले बुझेका छन् ।
मेरा विचार ग्रन्थिहरू मृत्युउपरको रौँचिरा दर्शनखाँतिर आफ्ना सोचनीय शक्तिलाई प्रयोग गरि शिथिलाउनमा व्यस्त थिए । शिथिलाईको गोलो प्रकृतिलाई कलाले नयाँ आयाममा रेखा खिचिदिएको छ ।
प्रकृतिको गोलो सिर्जनामा सीधा-सीधा धर्सा तान्नु नै कलाको पहिलो चरण हो, कलाको सीर्जना हो । कला त्यहाँ पैदाउँछ ।
`तर मेरो कला भन्नू त्यस अनन्तताको फगत एक सानो धर्सो मात्र हो´ यस्तो विचार ओर्लिएको एक सन्ध्यामा मैले शंकर लामिछानेलाई पढेँ । उनको विचार ठुँगाई र मेरो विचार ठुँगाईले समानान्तर सीधा धर्साहरू तानिरहेका रहेछन् । शंकर भन्छन् :- ‘वास्तवमा प्रकृतिको रचना शैलीबाट अलग हुनु नै कला हो । ……..हाम्रो आफ्नो व्यक्तिगत विचार-प्रवाह त्यस अनन्तताको एक सानो धर्सो मात्र हो ।’
अनन्तताको शारदीय धिप्कोले अन्तरमा कुनै शिखालाई स्पर्श गर्दछ र एउटा मधुर ज्योति मेरो सहस्रारलाई लक्षित गर्दछ ।
कला जीवन हो भन्नुलाई अस्वीकार गरिहाल्न मेरो दार्शनिक मनले स्वीकार गर्दैन । म मान्दछु कला जीवन हो । जीवन साकार कला हो जसले `परा´मा निराकार कला जन्माउँछ, या भनौँ यसबाट सिर्जित निराकार कला अनन्तताको निराकार कलामा एक हुन पुग्छ ।
देवकोटा भन्छन् – जीवन हरेक समय सुन्दर देखिन्न तर कला देखिन्छ । देवकोटाको यो वाक्यलाई कुनै नेपाली शिक्षकले जीवन हरेक समय सुन्दर हुँदैन भनेर अर्थ्याउन सक्छन्, पढाउन सक्छन् । तर म यो वाक्यलाई द्विअर्थी देख्दछु र भन्दछु जीवन जतिसुकै असुन्दर देखियोस् तर त्यसमा कला हुन्छ, असुन्दर देख्नुको अर्थ कला नहुनु होइन । जीवनमा कला देखिन्छ । कलामा मनुष्य आफ्नो अत्युत्तम अवस्थामा देखिन्छ । यही अनुच्छेद द्वन्द्वात्मक छ । एउटै बाटोमा दुई दिशाले गरेको विरोध जस्तो ।
वर्तमानप्रति असन्तोष र भविष्यप्रति आशावादी भएर बाँच्नु लगभग सबै नेपालीको जीवनशैली हो । कोही भने अति नै निराशावादी भएर बाँचिरहन्छन् ।
वर्तमानप्रतिको असन्तोषले परिवर्तनको चाहना राख्ने रहेछ । `म मेरो भविष्य सुधारुँ´को भावना लिएर असन्तोषीले बाहिरी जीवन सुधार्दासुधार्दै अन्तर बिर्सिसक्छ र घुमिरहन्छ उही प्रकृतिको गोलाइमा ।
सनातनी चिन्तकहरूले कलाको गाम्भीर्य बुझेका हुनाले नै यस्तो उदाहरण दिएका रहेछन् । उनीहरू आरोह र अबरोहको क्रम पनि यसमा सुझाउँछन् ।
जीवनको चिन्तन हुन्छ भने अवश्य पनि सँगै जोडिएको मृत्युविषयमा चिन्तन हुनु आवश्यक हुन जान्छ । नैसर्गिक हुन जान्छ ।
मृत्युविषयमा हृदयशिक्षण हुनु जरुरी छ । सदैव बिदाईका लागि तयारी अवस्थामा रहिरहनु आवश्यक छ । झटपट निरपेक्ष भावले बिदाई हुनसक्नु कलाको अत्युत्तम रूप हो ।
तर, मानिस मृत्युकलालाई नमर्दासम्म स्वीकार गर्न सक्दैन । बरु जीवनलाई अझ सुन्दर बनाउँछु भन्ने उद्देश्य राख्छ । र, मानिसले जीवन काव्यमा स्वयंले भरेका अलंकार र कलालाई बुझ्नका लागि एउटा दर्शनको निरुपण गर्ने रहेछ ।
हुन त `छ प्रकारले हेर्नू´लाई दर्शन भनिन्छ । तरपनि दुई विकल्पमध्ये विमर्श गरि परिस्थितिसम विकल्पको चयन गरि चलिरहनु र आवश्यक परेमा दोस्रो विकल्प अंगाल्न सक्नु नै सायद जीवन दर्शन होला ।
दर्शनले तीनथरी व्यक्तिलाई आकर्षित गर्ने रहेछ । एक जसले जीवनमा केही गर्न सकेको छैन, हरेक कुराबाट भाग्ने कुनै बाटो खोजिरहेका बेला उसले खोक्रो आदर्शका रूपमा दर्शन भिर्ने रहेछ र तर्कका सहाराले आफ्नो भगौडापनलाई अौचित्यता प्रदान गर्ने रहेछ ।
र, अर्को जसले जीवनमा विभिन्न आयामलाई भोगिसकेको छ, जानिसकेको छ जीवन र खोज्दछ सयौँ प्रश्नको उत्तर भने उसले दर्शनको सहारा लिने रहेछ ।
र, तेस्रो जसले जीवनको सुरुआतदेखि नै प्रशस्त विचार-विमर्श गरि सहि-गलत, क्षणिकानन्त लगायतका विषयमा गहिरो अन्वेषण गर्दै जीवनपाइलालाई निरन्तर अगाडि बढाउँछ र दर्शनसँग गाँसिन पुग्छ ।
मलाई लाग्छ म पहिलोथरी व्यक्तिमा पर्छु । मेरो दर्शनधारणको तात्पर्य भाग्नु रहेछ की ? देखाउनु रहेछ कि ? या त मेरो स्वभाव हो दुःखलाई आकर्षित गर्ने, दुःखमा रमाउने ? दुःखको अभावमा दुःखी हुने ?
मान्छे दुःखका क्षणमा अझै धेरै दार्शनिक भैटोपल्ने रैछ । जीवनयात्रामा देखिएका विकल्पहरूलाई प्रतिवादी बनाउँदै त्यस्तो क्षणमा मनबाट एकधार बनाउन प्रयत्न गर्ने रैछ र अर्को बाटो त्यागिदिनु किन ठिक छ भन्ने कुराको उत्तर दिइबस्ने रैछ । दुःखमा दर्शन फल्दो रहेछ । दुःखमा दर्शन पक्व हुँदो रहेछ ।
यहाँ पुनरुक्ति दोष लाग्न सक्छ, किनभने माथिपनि मैले यस्तै कुरा गरिसकेको थिएँ । तर, यसलाई माथिकै विस्तारका रूपमा लिईदिँदा भने सो दोषबाट मुक्ति हुनेछ ।
म पहिला विरोध गरिबस्थेँ “अघाएको पेटले समय बिताउन दर्शन छाँटिबस्छ” भनेर । तर बिस्तारै बुझ्दै जाँदा भने दर्शनले पेटसँग होइन परिस्थिति र काल (विचार) सँग समन्वय गर्ने रहेछ सुरुमा र त्यसपछि समन्वय (युद्ध) गर्ने रहेछ मनसँग । मनसँगको घम्माघम्सिपछि त्यसैमा तादात्म्य हुनगई व्यक्ति दार्शनिक हुने रहेछ ।
दर्शन त बाँझो जोत्दै गर्दा पनि किसानले सोचिबस्न सक्ने कुरा रहेछ । घाँस झार्दै गर्दा वल्लो रूखदेखि पल्लो रुखसम्म टाँगिएको माकुराको जालो हेरेर मायाका बारेमा सोच्न सकिने रहेछ । घैंटामा पानी बोकेर हिँड्दै गर्दा घटपट-परमात्मा-आत्मा-प्रकृति-पुरूष आदिका बारेमा चिन्तन गर्न सकिने रहेछ । दर्शन त जीवनका हरेक कार्यहरूमा पल्लवित हुने रहेछ । हरेक क्षण जागृत बनाउन, सोचनीय बनाउन र, सावधान बनाउने रहेछ दर्शनले ।
तर, दर्शनी शब्दले जति नै छोपछाप पारेपनि मेरो जीवनको असफलता उदाङ्गिएर ङिच्च गरिरहन्छ । मलाई गिज्याइरहन्छ र निराशावादी बन्न अभिप्रेरित गरिरहन्छ ।
जब दर्शन फलाक्दाफलाक्दै स्वयं आर्थिकरूपेण असफल भइन्छ तब सारा दर्शन, ज्ञान, कला, विचार केवल ढोंग बन्न पुग्ने रहेछन् । तिनीहरूमा कसी त तब लाग्दो रहेछ जब व्यक्ति सर्वसम्पन्न हुने रहेछ । नत्र त यी सबै खदानमा लडिरहेका या भनौँ भिल्लका देशका मणि सरह हुनेछन् ।
एउटा जीवनकाव्य पढिदिने पाठकको नाम रहेछ -प्रेम । जसको जीवनमा प्रेम छैन त्यो किताब(जीवन काव्य) नपढिकिनै च्यातिने/फालिने रहेछ । त्यसका भावना, संवेदना, आकांक्षा, ज्ञान, ईतिहास, कला र विचारले कहिँकतै प्रभाव नपारिकिन शान्त-विश्रान्त हुनेरहेछन्, सकिने रहेछन् ।
म जबजब मेरो अर्धलिखित काव्यलाई एउटा लय दिनका लागि पुनर्पाठ गर्छु तबतब म यो एकमात्र जीवनकाव्य-पाठकको अभावले पिल्सिइन्छु ।
म कुनै प्रेमपात्रको अभावमा करुण, रौद्र र भयानक रसयुक्त काव्य बन्न पुग्छु । यसमा श्रृङ्गारिकता आउँदैन । यसमा रसमाधुरी हुँदैन । यो श्रुतिसुमधुर हुँदैन । निरश र कठीन गीतले हृदय छोएको मैले देखेको छैन ।
तर, लेखकले पाठक छैन भनेर लेख्न छाड्नु हुँदैन । गायकले डाँखापाखा नगुञ्जाए पनि आँफैले सुन्नेगरि गुनगुनाइरहनु पर्छ जीवन-गीत जीवन-लयमा।
किनकिन लेखक आफ्ना लेखहरुमा निर्लज्ज दौडिन्छ भन्ने लाग्छ मलाई । म पनि वैखरीमा व्यक्त गर्न नसकेका कुराहरू परालाई लेखहरूमा लेख्छु । तर, निर्वस्त्र हुँदा, कुनैपनि ढाकछोप, पर्दा, नकाब नलगाउँदा, नङ्गा हुँदा मान्छे साह्रै सुन्दर देखिन्छ । साह्रै कलात्मक देखिन्छ । छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित । शंकर ‘बडा’ भएर निन्दित नभएका होइनन्, सर्वोच्च कलामा एकाकार भएको हुँदा हामीले निन्दा गर्न नसकेका हौँ । प्रकृतिको स्वरूप नांगो छ ।
टुँडालहरु यसर्थमा पनि सुन्दरमा सुन्दर देखिन्छन् । प्रकृतिको नाङ्गो कलालाई हिन्दूकला-विज्ञानले जति अरुले बुझेको मान्दिनँ म ।
मैले यहाँ मानिसले धर्मधारण गर्नुतिरको दर्शनलाई व्याख्या गरिहिँड्न थालेँ भने विषयान्तर हुनेछ । कलामैं यसलाई हिँडाअौँ । कलालाई नै हेरौँ ।
तर कलालाई सँधै हेरिरहेर हुँदैन रहेछ, अपनाउनुपर्ने रहेछ । कलाका सबै अत्युत्तम गुणहरू छन् । कलाको एकमात्र खराबी रहेछ – यसलाई थपक्क कसैको हातमा हालिदिन सकिँदैन । कसैबाट कला लिएर कला जान्दछु भन्न सकिँदैन । कसैलाई हस्तान्तरण गर्न सकिँदैन रहेछ । यसलाई त जीउनुपर्ने रहेछ । यसलाई त नौद्वार खोलेर आँफैभित्र एकाकार गराएर बाँच्नुपर्ने रहेछ । कलालाई जीउनु पर्ने रहेछ र मात्रै कला जिउँदो हुने रहेछ ।
जिउँदो रहनका लागि नै मान्छेले जीवनभर संघर्ष गरिरहन्छ, मर्नका लागि तयारी त कमैले गर्छन्, कुनै योगी कुनै यतीले मात्रै । जिउँदो रहनका लागि कला आवश्यक छ । जीवन बाँच्नका लागि दर्शनको आवश्यकता छ । जीवनमा दर्शन पनि छ र कला पनि छ । अस्तु ।