झापा क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेद्वारी दिएका दिपक कुमार पाठक उर्फ युग पाठकले १०० मत पुर्याएका छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउनका लागि पाठक हेटौँडाबाट झापा पुगेका थिए । आफ्नो जिल्ला पनि झापा नभएका पाठकले हेभीवेट ओलीको सामना गर्न गार्हो पर्ने विश्लेषण गरिँदै आएको थियो ।
झापा क्षेत्र नं. ५ मा अग्रस्थानमा रहेका केपी शर्मा ओलीले २११६७ मत प्राप्त गर्दा पुतली चुनाव चिह्न पाएका पाठकले १०० मत पाएर आठौँ स्थानमा छन् । दोश्रो स्थानमा सत्ता गठबन्धनका उम्मेद्वार काङ्ग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १२०६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल ४४९७ मत सहित तेश्रो स्थानमा छन् । चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा भने क्रमशः जनमत पार्टीका भीम राजवंशीले १२४९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बूले ३४१, मङ्गोल नेसनल अर्ग्यानाइजेसनका सान बहादुर मेचेले २८७ र जनता समाजवादी पार्टी नेपालकी ओम माया आङदेम्बेले २४५ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा मतपरिणाम आउनुअघि यसै भन्न सकिन्न र देशभरि नै आश्चर्यजनक परिणाम आइरहेको बेला कतिपयले पाठकले जित्ने प्रक्षेपण पनि गरेका थिए । यसरी सार्वजनिक अनुमान गर्नेमा सर्वसाधारण वा पाठकका शुभचिन्तक मात्र नभई नेपाल कार्टुनिस्ट क्लबका महासचिव रवि मिश्र र समाजशास्त्री लेखक सञ्जीव पोख्रेल लगायत समेत थिए । अर्कोतर्फ पाठकले सय मत पनि नकटाउने प्रक्षेपण गर्नेहरू पनि उत्तिकै थिए ।
अहिलेसम्म प्राप्त मत परिणामले भने ती दुवै प्रकारका प्रक्षेपणलाई गलत सावित गरिदिएको छ । अर्थात् पाठकले १०० मत कटाएका छन् भने उनले जितिहाल्ने सम्भावना चाहिँ देखिएको छैन । यस क्षेत्रमा एक लाख चौवन्न हजार दुई सय उनान्नबे (१५४२८९) मतदाता सङ्ख्या रहेकोमा एक लाख दुई हजार एक सय पचास (१०२१५०) मत खसेको थियो । अहिलेसम्म करिब ४३ हजार सदर मत गणना भइसकेको छ जुन खसेको मतको ४२ प्रतिशत हो । तथापि युग पाठक र केपी शर्मा ओलीको मतान्तरभन्दा ज्यादा मत गन्न बाँकी नै रहेको हुँदा पाठकले जित्ने प्राविधिक सम्भावना पनि जीवितै छ ।
यस क्षेत्रमा पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देन (सुरेश) सँग पराजित भएयता त्यसपछिका दुई चुनावमा अत्यधिक मतसहित विजय भएका ओली यसपाली ह्याट्रिक गर्ने दाउमा छन् ।