काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो खेललाई बजारको हल्लाले कुनै प्रभाव नपार्ने बताएका छन् ।
‘लामिछानेले आफ्नो दृढ मनस्थितिलाई कुनैपनि बजारका हल्लाले प्रभाव पार्न नसक्ने’ बताएको सन्दिप लामिछानेका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले विचार डटकमलाई जानकारी दिए ।
नाबालिकलाई जबर्जस्ती करणीको आरोप लागेका लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको भन्दै क्यान र लामिछाने विरुद्ध विभिन्न विरोध कार्यक्रम एवम् अनलाइन ट्रेण्ड चलिरहेका छन् ।
सन्दिप लामिछाने लामो समय अभ्यासबाट बाहिर रहेका कारण अहिले अभ्यासमा कडा मिहिनेत गरिरहेका छन् । आफ्नो खेललाई पुरानै लयमा कायम राख्नका लागि अभ्यास गरिरहेका लामिछाने घाइते पनि भएका छन् । उनको दाहिने हातको बुढीअौँलामा चोट लागेको छ, तरपनि उनले अभ्यास छोडेका छैनन् ।

सन्दिपका वकिल सरोजकृष्ण घिमिरेले सन्दीपका विषयमा पछिल्लो समय उठिरहेका प्रश्नका विषयमा भने, ‘व्यवसाय नागरिकको नैसर्गिक अधिकार हो। खेलाडीको व्यवसाय भनेको खेल हो। एउटा विषयमा लागेको आरोपकै आधारमा खेल खेल्न नपाउने गरी रोकिनु कानुनी उपहास हुन्छ। जबसम्म कानुनले खेल खेल्नबाट रोक्दैन तबसम्म अरूले रोक्नु हुन्न। रोक्नु भनेको व्यक्तिको नैसर्गिक अधिकारलाई बन्देज गर्नु हो, पूर्वाग्रही हुनु हो।’

उनले अगाडि थपे, ‘संविधानले परिकल्पना गरेको फौजदारी न्यायको विस्तारित रूप सामाजिकीकरण हो। त्यो पनि दोषी सावित भएपछि।
खेल्ने व्यक्तिको संवैधानिक र कानूनी अधिकार हो l पूर्वाग्रही पत्रिका र ब्यक्ति हरुको प्रभावमा खेल्ने अधिकार रोक्न सकिन्न l कानून को राज्यमा कानून र अदालत को आदेश मात्र व्यक्ति को अधिकार रोक्ने हतियार हो l अभियोगनै खेल खेल्न रोक्ने साधन हुन हुँदैन | रोक्न खोज्नेको कानुनी आधार कुन हो?’
उनले मिडियाको अबुझ चरित्रमाथि पनि प्रश्न उठाउँदै भनेका छन् :-
‘राज्य को चौथो अंगका व्यावसायीहरुको दायित्व निष्पक्ष हुनु पनी हो l एकोहोरो दोषी साबित गराउन लागी पर्ने समाचार हरु पूर्वाग्रही मानसिकताका उपज हुन I’
घिमिरेले समाचार सम्प्रेषण गर्दा कुनै पक्षको वकालत गर्न नहुने बताए । ‘को सही ?को गलत ? भन्ने निर्णय अदालतले गर्छ । तर, अभियोगकै आधारमा कुनै पनि उर्जाशील व्यक्तिको जीवन बर्बाद पारिनु हुँदैन’ उनले बताए ।
क्यानको क्लोज क्याम्पको वातावरणलाई हेर्दा सबै टीमले नै लामिछानेलाई हौशला प्रदान गरिरहेको देखिन्छ । केही दिन अघि मात्रै पाकिस्तानी क्रिकेटर रिजवान पनि सन्दीपलाई भेटेर हौशला दिनकै लागि मात्रै नेपाल आएका थिए । रिजवानले सन्दीपका वकिलसँग भेट गरि कानूनी पाटोका बारेमा पनि चासो राखेका थिए ।
