बालबालिकाले भोग्ने मनोसामाजिक समस्याको पहिचान र विमर्शका लागि विद्यालयहरुमा जनशक्ति तयार

बालबालिकाले भोग्ने मनोसामाजिक समस्याको पहिचान र विमर्शका लागि विद्यालयहरुमा जनशक्ति तयार

काठमाडौं । कर्णाली प्रदेशमा सामुदायिक विद्यालयका शिक्षकहरुका लागि मनो-सामाजिक सहयोग विषयक तालिमहरु सम्पन्न भएका छन्।

Psychological Training @ Karnali province/ Photo by : Dinesh Bhatta

विपद् र त्यसपछिको समय तथा नियमित विद्यालय सञ्चालनको अवस्थामा समेत बालबालिकाहरुले भोग्ने मनोसामाजिक समस्याको पहिचान तथा प्रारम्भिक स्याहारका लागि विद्यालयमा जनशक्ति तयार गराइएको हो ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका ६० विद्यालयका १२४ जना महिला र १११ जना पुरुष गरि २३५ जना शिक्षकहरुलाइ इयु-युनिसेफ (EU-UNICEF) को आर्थिक प्राविधिक सहयोग तथा मर्सीकोर र स्याक नेपालको आयोजना मा सञ्चालित कोभिड-१९ प्रतिकार्यः शिक्षा समुह सुदृढीकरण कार्यक्रम मार्फत् विभिन्न चरणमा २ दिने तालिम प्रदान गरिएको कार्यक्रम संयोजक कृष्ण चापागाईंले विचार डटकमलाई जानकारी दिनुभयो। 

विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथ बाँचिरहेका छन् । शीर्ष पाँच कारणहरु मध्ये एक रहेको आत्महत्याबाट प्रत्येक वर्ष लगभग ४६,००० किशोरकिशोरीहरूको मृत्यु हुन्छ। मानसिक स्वास्थ्य सम्बन्धी आवश्यकताहरू र मानसिक स्वास्थ्य कोषको बीच ठुलो अन्तर छ ।

युनिसेफले २०२१ मा प्रकाशित गरेको प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ।

महामारीले बालबालिकाको मानसिक स्वास्थ्यमा धेरै असर पारेको छ । ध्यान केन्द्रित गर्न नसक्ने तथा ज्यादा चकचके स्वभावजन्य समस्या, चिन्ता, अटिजम, बाइपोलर डिसअर्डर / (दूईध्रुवीय बिकार), आचरण सम्बन्धि विकार, डिप्रेसन / उदासिता, खानपानमा विकार, बौद्धिक अपांगता, र स्किजोफ्रिनिया / मनोविदलता सहितका अन्य मानसिक समस्याहरूले बालबालिकाहरूको स्वास्थ्य, शिक्षा, जीवन नतिजा र सिकाइ क्षमतालाई हानी पुर्‍याएको देखिएको छ।

बालबालिकाले भोगिरहेका यस्ता समस्याको पहिचान र समाधानका लागि पनि यस्ता कार्यक्रमहरु सरकारी स्तरबाटै पहल गरि गरिनुपर्नेमा समाज जागरण केन्द्र (स्याक नेपाल) का सिकाइ निरन्तरता अभियान संयोजक खगेन्द्र शर्माले जोड दिनुभयो ।

बालबालिकाले समस्याको अभिव्यक्ति गर्न नसक्ने पनि हुन्छन् । सामान्य अवस्थामा देखिएका बालबालिकाले गम्भीर मनोसामाजिक समस्या भोगिरहेका हुन सक्छन् । त्यस्ता बालबालिकाका लागि उपयुक्त शिक्षा र व्यक्तित्व विकास गराउनु राज्यको पनि दायित्व हुन आउँछ । समयमै समस्याको पहिचान गरि बालबालिकालाई उचित परामर्श, शिक्षा र हौसला दिनु यस कार्यक्रमको उद्देश्य रहेको प्रदेश शिक्षा क्लस्टरका सूचना व्यवस्थापन अधिकृत दिनेश भट्टले बताउनुभयो ।