कालीकाे वास्तविक स्वरुप के हाे ?

कालीकाे वास्तविक स्वरुप के हाे ?

‘काली’को तात्पर्य हो ‘काल’की अर्धाङ्गिनी । भगवान् शिव काल स्वरुप (संहार स्वरुप) हुनुहुन्छ । त्यसैले भगवान् शिवकी पत्नी आद्याशक्ति जगदम्बा नै ‘काली’ हुनुहुन्छ ।

‘काली’ को तात्पर्य – जीवनमा आउने हर प्रकारका शत्रुलाई प्रबल रुपमा प्रहार गर्नेवाली वा शत्रुको विनाश गर्नेवालाी महादेवी हो । उहाँ अजन्मा आद्याशक्ति हुनुभएकाले पनि समस्त सृष्टि उहाँमा नै उत्पन्न भएर उहाँमा नै विलीन हुन्छन् ।

उहाँलाई कतिपय शास्त्रहरुमा कालिका भनी सम्बोधन गरिएको पनि पाइन्छ । तन्त्र विधानम् मा कालीको शब्दको व्युत्पत्ति निम्नअनुसार गरिएको पाइन्छ ।

क– ब्रह्म, आ– अनन्त, ल – विश्वात्मा, इ– सूक्ष्म, क– ब्रह्म, आ – अनन्त । यसरी हेर्दा उहाँ अनन्त, सूक्ष्म र विश्वात्मक ब्रह्म स्वरुप हुनुहुन्छ । निराकार, निर्गुण स्वरुप कालीको स्वरुप कालो निरुपण गरिएको पाईन्छ । काललाई समेत शासन गर्ने हुनाले महाशक्ति स्वरुपमा ‘काली’ भनिएको हो ।


हिन्दु धर्मको मान्यताअनुसार देवी भगवती निराकार स्वरुपमा रहेर पनि मानवलगायत समस्त प्राणीहरुको दुःख दूर गर्ने हेतुले विभिन्न रुपमा अवतरित हुनुहुन्छ ।

सत्त्व, रज र तम तीनै गुणका आश्रय लिएर सम्पूर्ण विश्वको सिर्जन, पालन र संहार गर्नुहुन्छ । माता कालीको स्वरुप हेर्दै डरलाग्दो, केश फिँजिएको, जिब्रो बाहिर निक्लिएको, कमरमा हात उनेर लगाएको, अर्धनग्न स्वरुप, हातमा विचित्रको खड्ग लिएकी, घाँटीमा नरमुण्डको माला लगाई एक हातमा नरमुण्ड लिएकी र भगवान् शिवमाथि आरुढ विकराल रुपको विभिन्न अर्थ निरुपण गरिएको पाइन्छ ।


शैवासनां शशियुतासित मुक्तकेशीं
नग्ना सदा शवकरांवृत काञ्चियुक्ताम्
सत्खड्ग मस्तक वराभय पाणिपद्मां
कालीं भजे घननिभां नरमुण्डमालाम्
श्यामाकाली महाविद्या ।।५।।


अर्थात् शिवरुपी आसनमा आरुढ चन्द्रमा धारण गरेकी, कृष्ण वर्णकी, फिँजिएको केशराशीले युक्त, सर्वदा नग्न, शवका काटिएका हातलाई उनेर कमरमा बेरेकी, खड्ग, मस्तक, वरमुद्रा तथा अभय मुद्रा धारण गरेकी नरमुण्डका माला लगाएकी मेघसमान कालो वर्णकी कालीको म भजन गर्दछु ।

माता महाकाली शिवरुपी आसनमा आरुढ हुनुहुन्छ । जहाँ भगवान् शिवलाई नै शवको रुपमा निरुपण गरिएको छ । जब शरीर प्राणविहीन बन्दछ तब मानव शव बन्दछ । शव प्राणहीन हुनाले सदैव निष्क्रिय रहन्छ । त्यस्तै प्रकारले भगवान् शिव पनि निर्गुण, निर्विकार तथा सर्वव्यापक हुनाले सदैव निस्क्रिय हुनुहुन्छ । निस्क्रिय शिव सम्पूर्ण चक्रका आधार रुपमा स्थित हुनुहुन्छ । माता आधेय शक्ति भएकाले सदैव पूर्णरुपमा सक्रिय हुनुहुन्छ ।

जब शिवबाट शक्ति पृथक् हुन्छ तब शिव पनि शव सरह बन्दछन् । त्यस्तै शिवका अंशरुप मानवबाट जब प्राणशक्ति पृथक हुन्छ तब मानव पनि शव बन्दछ । जब प्राणशक्ति स्वरुपा माताकाली साधकको चित्तवृत्तिमा आरुढ हुन पुग्नुहुन्छ तब साधक पनि शिव स्वरुप बन्दछ र पाञ्चभौतिक तत्त्व तथा सांसारिक प्रपञ्चबाट मुक्त बन्दछ भनी माताको आसन शिव हुनुको अर्थ निरुपण गरिएको छ ।

माता कालीको निधारमा अमृतरुपी चन्द्रमा सुशोभित छ । जसको सांकेतिक अर्थ हुन्छ – उहाँको भक्ति, आराधना र साधनाले अमृत तत्त्व प्राप्त गर्दछ । खुला मुक्त केशी हुनुभएकाले उहाँ मुक्त त्रिगुणातीत हुनुहुन्छ । सूर्य, चन्द्र र अग्नि तीन नेत्रस्वरुप हुन् । त्यसैले उहाँ त्रिकालदर्शी हुनुहुन्छ । उहाँ अनावृता र दिगम्बरा हुनुहुन्छ । जसको अर्थ हुन्छ उहाँ माया, मोह र आवरणरहित हुनुहुन्छ । उहाँको मुहारमा सदैव मुस्कान छ जसको कारण उहाँ नित्यानन्दमयी हुनुहुन्छ । कमरमा काटिएका हात लगाउनु संकेत हो – व्यवहारलाई नियन्त्रित गर्ने मनुष्यका हात समान व्यवहारिक स्थूल सृष्टिको समाप्ति पश्चात् पनि काल बिजस्वरुपमा कालीका शरीरमा रहिरहन्छन् ।

उहाँको चार भूजामध्ये एकमा नरमुण्ड ९मस्तक० रहेको छ । जसको संकेत हुन्छ वामा मार्गका आफ्ना उपासक ९साधक० हरुलाई उनीहरुको मस्तिष्कमा तत्त्वरुपी ज्ञान आरोपित गर्नुहुन्छ । त्यस्तै शरीर तथा बाह्य पदार्थका नियन्त्रक मनुष्यको शिर नै हो । यदि शिर शरीरदेखि विछिन्न भयो भने सबै समाप्त हुन पुग्छ । त्यसैले सांसारिक कालका उच्छेदन गर्ने हुनाले, तरवारले सांसारिक मोहमाया समाप्त गर्ने हुनाले उहाँ काली स्वरुप बन्नुभयो ।

उहाँका भक्त सदैव कालजयी हुन्छन् भनी खड्ग र मस्तकको सार्थकता सिद्ध गरिएको पाइन्छ । नरमुण्डबाट बगेको रगत सृष्टिको उत्पत्तिको प्रतीक मानिएको पाइन्छ । अभय तथा नरमुद्राको तात्पर्य हुन्छ – आफ्ना भक्त वा उपासकलाई पूर्णरुपमा अभय प्रदान गर्नुहुन्छ । भयरहित साधकका अभिष्ट कामनाको हेति उहाँले वर प्रदान गर्नुहुन्छ । उहाँको कृपाले भक्त पूर्णरुपमा भोग तथा मोक्षरुपी दुवै व्यवहार र आध्यात्मिकरुपमा पूर्णता प्राप्त गर्न सक्षम बन्दछ ।

उहाँले दाँतले जिब्रोलाई दबाउको प्रतीकको रुपमा सत्त्वगुणले तम र रज गुणलाई पराजित गर्ने कुराको निरुपण गरिएको पाइन्छ । गलामा नरमुण्ड माला धारण गर्नु भएकाले उहाँ परब्रह्म स्वरुप तथा मातृका स्वरुपमा हुनुहुन्छ । ती मुण्ड विभिन्न मातृका स्वरुपका प्रतीक पनि मानिएको पाइन्छ । यसरी यस रुपबाट हेर्दा आद्याशक्ति काली दश महाविद्यामध्ये प्रथम महाविद्याकी सर्वस्वरुपा अधिष्ठात्री देवी मानिनुहुन्छ ।

भगवती कालीका विभिन्न भेद वा स्वरुपहरुको बारेमा शास्त्रहरुमा वर्णन गरिएको पाइन्छ । ती भेदहरुमध्ये कतै श्यामाकाली, दक्षिणकाली, गुह्यकाली, कालरात्रि, भद्रकाली र महाकाली भनी उल्लेख गरिएको पाइन्छ । कतिपय शास्त्रहरुमा चिन्तामणिकाली, स्पर्शमणिकाली, सन्ततिप्रदाकाली, सिद्धिकाली, दक्षिणकाली, कामकलाकाली, हंशकाली र गुह्यकाली भनी उल्लेख गरिएको छ । त्यस्तै कतै दक्षिणकाली, भद्रकाली, श्वशानकाली, सिद्धिकाली, कलाकाली, कामकलाकाली, चण्डिकालिका, महाकाली, गुह्यकाली भनी ९ भेद बताइएको छ ।

जे जस्तो भेदको उल्लेख र वर्णन गरिएतापनि माता काली विशेष गरेर तन्त्र साधनाको क्षेत्रमा अद्वितीय साधनाकी प्रमुख अधिष्ठात्री देवी मानिनुहुन्छ । तन्त्र साधनामा काली उपासनालाई सर्वोत्कृष्ट साधना पद्दति मानिन्छ । तन्त्र साधनामा उल्लेखित दश महाविद्यामध्ये पहिलो महाविद्याअन्तर्गत पर्नुहुने माता कालीको उत्पत्ति सम्बन्धमा विभिन्न पुराणहरुमा पनि भेद देखिन्छ ।

पुराणहरुमा उल्लेख प्रसंगअनुसार दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा माता सती र भगवान् शिवलाई निमन्त्रणा गरिएन । सोही कारण माता सती क्रोधित भई पतिको अनादर गरिएकोले दक्ष प्रजापतिको यज्ञमा गई आफू र महादेवलाई नबोलाउनुको कारण सोध्नुहुन्छ । दक्ष प्रजापतिले दिएको जवाफरुपी शिव निन्दा सुन्न नसकी आफ्नै तनबाट ब्रह्माग्नि उत्पन्न गरी प्राण त्याग गर्नुहुन्छ । यो सुनी भगवान् शिव क्रोधित भई आफ्नो शिरबाट जटा उखेली पर्वतमा बजार्दा अत्यन्त बलशाली विरभद्र प्रकट हुनुर्भको र अर्को जटा उखेली पुनः बजार्दा माता महाकाली उत्पन्न भई दक्ष प्रजापति र उनका सेनालाई मार्नुभएको प्रसङ्गको उल्लेख पाइन्छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार शुम्भ र निशुम्भ नाम गरेका महापराक्रमी र अति बलशाली दैत्यहरुले देवराज इन्द्रलगायत समस्त देवगणलाई पराजित गरी सत्ताच्युत गरे । उनीहरु आफ्नो प्राण रक्षार्थ महाशक्ति स्वरुपमा अपराजिता आद्याशक्तिको आह्वान प्रार्थना गर्दछन् । उक्त प्रार्थना सुनी माता पार्वतीले सोध्दा माता पार्वतीकै कोशबाट शिवा ९अम्बिका० प्रकट हुनुहुन्छ र मेरो प्रार्थना गरिरहेका छन् भन्नुहुन्छ । यसरी अम्बिकाको प्राकाट्यपश्चात् उहाँ कौशिकीका नामबाट पुकारिनु भयो ।

कौशिकी प्रकट हुनुभएकाले पार्वतीको रुप कालो हुन पुग्यो र उहाँ काली का रुपबाट विख्यात हुन पुग्नुभयो ।
‘काली’ उत्पत्तिका सम्बन्धमा शिव पुराणको वायवीय संहितामा यसरी उल्लेख गरिएको छ । एकपटक माता पार्वती र भगवान् शिव मन्दराचल पर्वतको रमणीय वनमा डुल्दै हुनुहुन्थ्यो । तब शिवजीले विनोद गर्दै जगदम्बा पार्वतीको रुपको निन्दा गर्दै एकान्तमा काली भनेर पुकारा गर्नुभयो । तब सुन्दर वर्णवाली जगदम्बा रिसाएर भन्नुभयो । मेरो यस काली रुपसँग तपाईँको प्रेम रहेनछ, यो कुरा आजसम्म किन बताउनु भएन ? तपाईंद्वारा निन्दित यस वर्णलाई त्यागेर म तपश्याद्वारा अर्को वर्ण (रुप) धारण गर्दछु ।

तब उहाँ गौरी वर्ण ९रुप० धारण गर्नको लागि ब्रह्माजीको तपस्या गर्न थाल्नुभयो । लामो समयसम्म तपश्यामा लीन हुनुभयो । वनमा तपश्यामा लीन पार्वतीको अगाडि एउटा अति भोकाएको बाघ शिकारको लागि आउँछ तर मातालाई देख्नासाथ आक्रमण नगरी बसिरहन्छ । एउटा हिंस्रक प्राणी चुपचाप बसेको देखी माताले अन्य दुष्ट प्राणीहरुबाट उक्त बाघले आफ्नो रक्षा गर्ने ठानी कृपा प्रदान गर्नुहुन्छ । जसको कारणबाट ऊ जन्मसिद्ध भोक, दुष्टताबाट मुक्त बन्दछ । ऊ पूर्ण रुपमा आनन्दमग्न भई देवीको सेवामा समर्पित ९लीन० बन्न पुग्छ ।

त्यसै समयमा ब्रह्माजीका कुनै पनि पुरुषको हातबाट मृत्यु नहुने, भइहाले पनि कुनै अयोनिजा कन्याबाट मात्रै मृत्यु हुने वरदान पाएका शुम्भ र निशुम्भ नाम गरेका दैत्यहरुले घमण्डले चूर भई समस्त ब्रह्माण्डमा अत्याचार गर्न थाल्दछन् । उनीहरुको अत्याचारबाट पीडित र सत्ताच्युत इन्द्रलगायत देवगण ब्रह्माजीको शरणमा जान्छन् । तब ब्रह्माजीले माता पार्वतीलाई दर्शन दिई गौरी रुप धारणको साथै काली स्वरुपबाट शुम्भ निशुम्भको वध गर्ने आज्ञा दिनुहुन्छ ।

यसरी माता आद्याशक्ति पार्वतीले आफ्नो कालो वर्ण त्यागी गौरी वर्ण धारण गरिन् । जगदम्बाको कोशबाट कौशिकीरुप त्यागी काली शक्ति स्वरुपा प्रकट भइन् ।

देवी अम्बिका ब्रह्माजीका आज्ञाले हिमालयमा परम सुन्दर रुप धारण गरी विचरण गर्न थाल्नुभयो ।
देवी अम्बिकालाई शुम्भ निशुम्भका गण चण्ड मुण्डले देखेर शुम्भसँग उहाँको रुपको वर्णन गर्दै पाणिग्रहिता बनाउन अनुरोध गर्दछन् । देवीले उक्त प्रस्ताव अस्वीकार गर्दै युद्धका लागि आह्वान गर्नुहुन्छ । युद्धमा देवीले सेनासहित चण्ड मुण्डलाई मारिदिनुहुन्छ । चण्ड र मुण्डको संहारिका हुनुभएकाले चामुण्डा नामले विख्यात हुनुभयो ।

चण्ड र मुण्ड मारिएको सुनी सेनापति रक्तबीज अत्यन्त क्रोधित भएर युद्ध गर्न थाल्यो । युद्धमा देवीका आयुधले जब रक्तबीजका शरीरबाट रुधिर ९रगत० को एक थोपा मात्रै खसे पनि उसकै समान बलशाली अर्को असुर ९रक्तबीज० उत्पन्न हुन्थ्यो । यसरी देवीको आक्रमणका कारण उत्पन्न रक्तबीज रुपी दैत्यहरुले पूरा ब्रह्माण्ड ढाक्न थालेको देखी जगत् तथा देवता सारा भयभीत हुन थाले । त्यस्तो अवस्था देखि देवीले कालीसँग आफ्नो मुखद्वारा सारा रगत भक्षण गर्नाले दैत्य अथवा रक्तबीज पुनः उत्पन्न नहुने बताएपछि देवीका आयुधका कारण झरेका रगतका थोपा कालीले आफ्नो मुखद्वारा भक्षण गरी दैत्यहरुको संहार गर्नुभएको र धर्मको स्थापना गर्नुभएको प्रसंगको उल्लेख पाइन्छ ।

माता कालीको उत्पत्तिको सन्दर्भमा जे जस्तो प्रसंगको उल्लेख भएपनि हामी यो मनन गर्न सक्छौँ की जब जब धरतीमा सत्य र धर्ममाथि आँच आउँछ, आसुरी शक्तिले प्रभुत्व जमाउन थाल्दछ तब महाशक्ति स्वरुपमा महाकाली माता विभिन्न तम, रज, सत्त्व तीनै गुणमा आरुढ भई साकार र निराकार रुपमा प्रकट भई दानवीय आसुरी शक्तिको विनास गरी सत्य र धर्मको उत्थान गर्नुहुन्छ ।

आद्याशक्ति महाकाली माता दश महाविद्यामध्ये प्रथम महाविद्याको रुपमा विराजित हुनुहुन्छ । प्रथम महाविद्याको रुपमा आसिन महाशक्ति महाकालीको उपासनाबाट साधकले कालमाथिसमेत विजय प्राप्त गर्न सक्दछ । महाशक्ति महाविद्या महाकाली विशेष गरी तान्त्रिक साधनाको प्रमुख अधिष्ठात्री देवी रुपमा मानिनु हुन्छ । तन्त्र साधनामा काली उपासनालाई सर्वोत्कृष्ट साधनाको रुपमा मानिन्छ । अझै कुनै समयमा पश्चिम बंगालमा यस साधनाले निकै प्रसिद्धी पाएको देखिन्छ । काली साधनाको महत्त्वलाई उजागर गर्दै पुराणमा भनिएको पाइन्छ –

अथ काली मन्वये सधोवाक्सिद्धिपायकान् ।
आरावितैर्यः सर्वेष्टं प्राप्नुवन्ति जनाभुवि ।।

अर्थात् काली साधना गर्नाले तुरुन्त वाक्सिद्धि हुन्छ र यस लोकका समस्त मनोवाञ्छित फल प्राप्त गर्न सक्षम हुनछ । हिन्दू धर्ममा अनादिकालदेखि शक्ति साधनाका रुपमा देवीका साधना तथा उपासना पद्दतिले अझैसम्म पनि निरन्तरता पाएको देखिन्छ । सृष्टिका जननी नै माता भएकाले मानवका प्रथम देवताको रुपमा पनि मातृशक्तिलाई मान्न सकिन्छ । त्यसैले पनि अनादिकालदेखि नै मातृस्वरुपमा देवीका आराधना गर्ने प्रचलनले हालसम्म निरन्तरता पाएको देखिन्छ । वैदिक परम्परालाई चिन्तन गर्ने हो भने पनि मातृस्वरुपमा अदितिलाई महादेवीको रुपमा पुकारिएको पाइन्छ । अझै तन्त्र साधनामा काली आराधना वा उपासना गर्ने परम्पराले निकै महत्त्वपूर्ण र सर्वोच्च स्थान पाएको देखिन्छ ।

कलौ कालीं कलौ काली कलौ काली तुक वला ।
संधिता कालनाथेन प्रत्यक्षा कालिका कलौ ।
कलौ कालीं विहायाय यः कश्चिन्मोक्षकामुक्त ।
स भोजनं विना नूनं श्रुन्नि वृत्तिम् भीप्सति ।। (तन्त्र चिन्तामणि)

अर्थात् कलियुगमा काली, काली केवल काली मात्रै हुनुहुन्छ । जुन कालीको साधना कालनाथ अथवा महाकालले पनि गरेका छन् । त्यस्ती कालीले कलियुगमा आफ्ना भक्त ९साधक०लाई प्रत्यक्ष दर्शन दिनुहुन्छ । कलियुगमा कालीलाई छाडेर यदि कसैले मोक्ष पाउने इच्छा राख्दछ भने त्यो मानिसले भोजन नगरिकिन भोक मेटाउन चाहे बराबर हुनेछ ।


यसरी काली साधनाको महत्त्व र अनिवार्यतालाई हामी मनन गर्न सक्छौँ । कलिकालमा काली साधनाको कति महत्त्व छ भन्ने कुराको हामी सहजै अनुमान गर्न सक्छाँै । समस्त दुःख, कष्ट हरण गरी मोक्षता प्रदान गर्ने देवीको रुपमा उहाँको उपासना गर्ने परम्पराले पूर्वीय संस्कृतिमा निकै मान्यता पाएको देखिन्छ । कलिकालमा कठिन र विषम परिस्थिति तथा समस्त दुःख कष्टबाट छुटकारा पाउन, ती सबैको सामना गर्ने क्षमता केवल माता कालीको आशीर्वादबाट मात्र सम्भव छ । उहाँको पूजा, अर्चना र स्मरण गर्नाले मात्र पनि संकट टर्दछ भन्ने विश्वास काली उपासकहरुमा पाइन्छ ।


कालिका मोक्षदा देवी कलौ शीघ्र फलप्रदा अर्थात् मोक्षदायिनी कालीको उपासना कलियुगमा शीघ्र फलदायक मानिन्छ । शास्त्रहरुमा कलियुगमा कृष्ण वर्णका देवी देवताको पूजा, उपासना, आराधनालाई अभिष्ट सिद्धिदायक भनी बताइएको पनि पाइन्छ । कालीको प्रादुर्भाव दैत्यहरुको संहारका लागि, धर्मको रक्षा र स्थापनाको हेतुले भएकाले उहाँको भक्ति, साधना, हवन आदि गर्नाले भक्तलाई अभय प्राप्त हुनछ । उहाँ शीघ्र प्रसन्न हुने हुनाले भक्तले साधनाको छोटो अवधिमा नै अभिष्ट फल प्राप्ति गर्दछ ।


भगवती काली आद्याशक्ति चित्तशक्तिको रुपमा विद्यमान हुनाले अनादि अनित्य अनन्त विश्व ब्रह्माण्डका स्वामिनी हुनुहुन्छ । विभिन्न शास्त्रहरुमा माता कालीको उपासना वा साधना विभिन्न नामले गरिएको पाइन्छ । वेदका कालिको स्तुति वन्दना भद्रकालीको नामबाट गरिएको पाइन्छ । काली उपासना पूर्वीय संस्कृतिको धरोहर मानिन्छ ।

आद्याशक्ति काली माता अत्यन्त ममतामयी हुनुहुन्छ । उहाँका उपासना कति सुखद र ममताले ओतप्रोत भएको हुन्छ भन्ने कुरा हामी काली उपासकहरुको जीवनीबाट पनि अनुभूत गर्न सक्छौँ । सृष्टिको आरम्भदेखि नै यस्ता उपासकहरुले धरालाई उज्ज्वल तुल्याएका छन् । जगत्जननी कालीको स्नेह पाउने उपासक वा साधकहरुको पंक्तिमा परमहंस रामकृष्ण र कालिदासको नाम अत्यन्तै श्रद्धाले लिइने गरिन्छ ।


काली उपासनाले साधको जीवनमा आउने हरेक विघ्नबाधा यसरी भष्म हुन्छन् जसरी अग्निमा समस्त चिजबीज भष्म हुन्छन् । उहाँको उपासनाले वाणी सिद्धि र तेजस्विता स्वतः प्राप्त हुन्छ । शत्रु निष्प्रभ हुन्छन् । दश महाविद्याकी प्रमुख अधिष्ठात्री देवी भएकोले पनि समस्त सिद्धिहरु सुगम र सहज रुपले प्राप्त हुन्छन् ।

माता कालीको मन्त्र अनुष्ठान यदि साधक श्रद्धा र निष्ठापूर्वक गर्दछ भने चतुवर्ग (धर्म, अर्थ, काम र मोक्ष) को साथै माताको सानिध्यता सदैव प्राप्त हुन्छ । उसलार्य अभयता, पूर्णता, सम्पन्नता र श्रेष्ठता प्राप्त हुन्छ । रोगहरुबाट पूर्णरुपमा मुक्त भएर स्वस्थ र पूर्ण जीवन तथा दीर्घायु जीवन प्राप्त हुन्छ । अति नै दुर्लभ मानिने महाविद्या काली साधना गर्ने साधक, उपासकको देवताहरुले पनि ईष्र्या गर्दछन् भनी शास्त्रहरुमा व्याख्या गरिएको पाइन्छ । महाविद्या महाकाली साधना अत्यन्त उच्चकोटीका दुर्लभ साधनाहरुको श्रेणीमा पनि सबैभन्दा उच्च र दिव्यतम् साधना मानिन्छ ।


दैवी पूर्तिर्दक्षिणा – ऋग्वेद १०।०७।०३
अर्थात् संसारमा सबै इच्छा पूर्ति गर्ने दायित्व भोक्तृत्व शक्ति भगवती देवीमा नै निहित छ । त्यस्तै देवीको स्वरुप र उहाँ महत्त्वको बारेमा अथर्ववेदमा भनिएको छ – सर्वे वै देवा देवी मुपतस्थुः कासि त्वम् रु साऽऽवृवीत महादेवीति । अहं ब्रह्मस्वरुपिणी मतः प्रकृतिपुरुषात्मकं जगत इत्यादि । अथर्व शीर्ष (१६)


सबै देवताले भगवती देवीको उपासना प्रार्थना गरेर हजुर को हुनुहुन्छ भनी प्रश्न गरे । देवीले म महादेवी हुँ । परब्रह्मको स्वरुप मैले नै दिएकी हुँ । म बाट नै प्रकृति र पुरुषरुपमा जगत्को सृष्टि (रचना) हुने गर्दछ । भन्नुभयो । त्यसैले दिव्य चेतनामय आद्याशक्ति, महाशक्ति स्वरुपा देवी कालीको उपासना देव, मनुष्य, दानव, गन्धर्व, नागलगायत सबै प्राणीले गरेको कुरा हाम्रा विभिन्न शास्त्रहरुमा उल्लेख पाइन्छ ।

मानिस सदैव कालसँग (मृत्युसँग) भयभीत भईरहन्छ । त्यसैले भयरहीत जीवन र सम्पूर्णताले भरिपूर्ण जीवन पनि माता कालीको कृपा, आशीवाृद आवश्यक छ । आश्विन कृष्ण अष्टमी तिथिलाई काली जयन्तीको रुपमा भव्यताकासाथ मनाइने गरिन्छ । समाजमा व्याप्त अशान्ति, हिंसा, हत्यालगायत आतंक स्वरुप आसुरी प्रवृतिबाट मुक्तिको लागि पनि माता कालीको आशिर्वाद आवश्यक पर्दछ ।

काली साधना अत्यनत अद्वितीय एवं दूर्लभ साधना भएकाले सन्न्यासी एवं गृहस्थ साधक दुवैको लागि अति नै श्रेष्ठतम् साधना मानिन्छ । सन्न्यासी साधकहरुले आभ्यान्तरिक उत्थान तथा साधनात्मक श्रेष्ठताको प्राप्तिका लागि माता कालीको उपासना, साधना गर्दछन् । गृहस्थ साधकहरु आफ्ना समस्त भौतिक विपत्तिहरुको उत्सर्जन, निवारणार्थ तथा दुःख, कष्ट, शत्रुहरुबाट मुक्तिको लागि, समस्त ऐश्वर्य र पूर्ण समृद्धमय जीवनको अपेक्षाका लागि माताको उपासना गर्दछन् ।

त्यस्तै तामासिक र सात्त्विक दुवै रुपमा पनि उहाँको साधना उपासना गर्ने प्रचलन रही आएको देखिन्छ । माता कालीको कृपाले साधकमा दृढता, निर्भयता, साहस तथा संकल्प शक्तिको उद्भव हुन्छ । आजको विषम परिस्थितिबाट मुक्तिको लागि माता कालीको कृपा नै सबैभन्दा अचुक उपाय हो ।