भारतमा हिन्दू राजाहरुले नै चोर्थे मूर्ति, नष्ट गर्थे मन्दिर

भारतमा हिन्दू राजाहरुले नै चोर्थे मूर्ति, नष्ट गर्थे मन्दिर


यतिबेला भारतमा काशी क्षेत्रको ज्ञानवापी र मथुराको ईदगाह मस्जिद विवादमा छन् । हिन्दू पक्षले अयोध्यामा झैँ हिन्दू मन्दिर भत्काएर मुस्लिम शासकहरुले यहाँ मस्जिद बनाएका थिए, त्यो ऐतिहासिक भूललाई सुधार्नुपर्छ भनिरहेका छन् ।
यो लेखमा मन्दिर लूटपाट, विध्वंस र नयाँ स्थापनाको इतिहासलाई हेर्नेछौँ । सुरु गरौँ त्यहाँबाट जतिबेला हिन्दूधर्ममा मन्दिर हुँदैनथे ।

मन्दिर भन्दा पहिलाको हिन्दू धर्म
हडप्पा सभ्यताको शहरमा मन्दिरको कुनैपनि प्रमाण भेटिँदैन । त्यतिबेलाका मुद्राहरुबाट यहाँका मान्छेहरुले रुखको पूजा गर्ने गर्दथे भन्ने थाहा हुन्छ ।
संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा पनि कुनै मन्दिरको उल्लेख गरिएको पाईँदैन । ऋग्वेदका मन्त्रहरुमा सूर्य, आकाश र अग्नि जस्ता देवताहरुको प्रशंसा गरिएको छ, जसको मन्दिर बनाइएको थिएन । त्यतिबेला केवल यज्ञको प्रचलन थियो ।
करिब १० हजार देखि ५०० ईसापूर्वमा पुराण अस्तित्वमा आयो । जसमा ब्रह्मा, विष्णु एवं ३३ कोटी देवताहरुको र देवीहरुको बारेमा लेखियो ।
करिब ७०० देखि ५०० ईसापूर्वमा नेपाल भारतमा बौद्ध र जैन धर्मको सुरुवात भयो । बौद्ध र जैनहरुले आ–आफ्ना उपदेशकहरुको यादमा मठ बनाए ।
कयौँ शोधकर्ताहरुले यहीँबाट हिन्दूहरुलाई मन्दिर बनाउने प्रेरणा मिलेको बताउँछन् ।

मन्दिरको सुरुवात र बिस्तार
भारतमा पूजास्थलको रुपमा मन्दिर बनाउने सिलसिला कहिलेबाट सुरु भयो र त्यतिबेला मन्दिरको उपयोग के थियो ? भन्ने प्रश्नको सटीक उत्तर कसैसँग छैन ।
इतिहासकार नीरद सी. चौधरीका अनुसार सबैभन्दा पुरानो स्वरुप जसले मूर्ति पूजाको संकेत दिन्छ त्यो ४०० देखि ईस्वीको हो ।
माइथोलोजिस्ट देवदत्त पटनायकले ठूला किसान र स्थानीय अभिजात्य वर्गले सबैभन्दा पहिले मन्दिर बनाएर त्यसको संरक्षका लागि ब्राह्मणको नियुक्ति गरिएको र मन्दिरका लागि जमिन छुट्याइएको बताउँछन् ।
इतिहासकार मनु वी देवदेवन का अनुसार करीब ७०० ईस्वीमा काञ्चीपुरम्को पल्लव, बादामीको चालुक्य र अन्य राजाशाही राज्यहरुले मन्दिर निर्माण कार्यलाई बढाबा दिएका थिए ।
देवदेवनका अनुसार १००० देखि १२०० ईस्वीमा भारतमा मन्दिर निर्माणको लहर चल्यो । त्यतिबेला यस्तो कुनैपनि गाउँ या शहर थिएन जसमा एक या एकभन्दा धेरै मन्दिर नभएको होस् ।


हिन्दूमूर्ति लुटको कहानी
प्रसिद्ध इतिहासकार रिचर्ड ईटन र प्रोफेसर रिचर्ड एच डेभिसले आफ्नो लेखमा जैन र बौद्ध तीर्थस्थलहरुका अलावा हिन्दू मन्दिरहरु नष्ट गर्ने र मूर्तिहरु लुटेका धेरै घटनाहरुको वर्णन गरेका छन् । यो काम हिन्दू राजाहरुले गरेका थिए ।
सातौँ शताब्दीमा हिन्दू पल्लव राजा नरसिंहवर्मन प्रथमले चालुक्य साम्राज्यको राजधानी वातापीबाट गणेशको एउटा मूर्ति लुटेका थिए ।
५० वर्षपछि हिन्दू चालुक्य सेनाले हिन्दू मन्दिरहरुबाट लुटिएका गंगा र यमूनाका मूर्तिहरु आफ्ना साथमा लिएर आयो ।
आठौँ शताब्दीमा बंगाली हिन्दू सेनाले कश्मीरका हिन्दू राजा ललितादित्यसँग सम्बन्धित विष्णुको एउटा मूर्ति नष्ट गरिदिएको थियो ।
दशौँ शताब्दीमा हिन्दू प्रतिहार राज हेरम्बपालले कांगडाका हिन्दू शाही राजालाई हराएर कांगडा शाही मन्दिरबाट विष्णुको सुनको प्रतिमा लुटेका थिए ।
११औँ शताब्दीमा चोल शासक राजेन्द्र प्रथमले आफ्नो राजधानीलाई हिन्दू देवीदेवताका मूर्तिहरुले सजाएका थिए । यसमा चालुक्य राजाबाट लुटिएका दूर्गा र गणेशका मूर्ति, उडिशा र कलिंगबाट लुटिएका भैरव, भैरवी र कालीका प्रतिमाहरु, पूर्वी चालुक्यबाट लुटिएका नन्दिका प्रतिमाहरु सम्मिलित थिए ।


हिन्दू मन्दिरहरुको विध्वंस
हिन्दू दुश्मनहरुको मन्दिरबाट मूर्ति लुट्नुका साथै कयौँ हिन्दू राजाहरुले आफ्नो जीतको संकेत दिनका लागि पराजित राजाहरुका शाही मन्दिरहरु नष्ट गरिदिएका छन् ।
१०औँ शताब्दीमा राष्ट्रकूटका राजा इन्द्र तृतीयले कल्पामा कलप्रियाको मन्दिर तोडेका थिए । यो मन्दिरको संरक्षण प्रतिहार राजाले गर्थे ।
त्यस्तै उडिशामा सूर्यवंशी गजपति वंशका संस्थापक कपिलेन्द्रले तमिल देशमा आफ्नो सैन्य अभियानका बेला कयौँ हिन्दू मन्दिरहरु लुटेका छन् ।
प्रोफेसर रिचर्ड डेविसले मध्यकालमा हिन्द्र राजाहरुले धार्मिक छविलाई नष्ट गरिदिएको मान्दछन् । त्यतिबेला मुस्लिम र तुर्कीहरु भारतमा आएका पनि थिएनन् ।
जब एउटा राजाले अर्को राजाको मन्दिर या मूर्ति लुट्थ्यो या नष्ट गथ्र्यो त्यसका पछाडिको एउटै कारण हो पूर्ण विजय स्थापित गर्नु ।
इतिहासकार हरवंस मुखियाका अनुसार प्रश्न गरिन्थ्यो कि ः तिमी कस्ता राजा हौ जसले आफ्नो मन्दिर पनि बचाउन सकेनौ ?
मन्दिरनष्ट हुने अर्को एउटा कारण हो मन्दिरमा पाइने सुन, हीरा र अन्य जवाहरात ।


बौद्ध तीर्थस्थलको विध्वंस
कयौँ इतिहासकारहरु हिन्दू राजाहरुले हजारौँ बौद्ध तीर्थस्थलमा हमला गरेको मान्दछन् । ब्राह्मणहरुले हिन्दू धर्म बचाउने नाममा बौद्ध तीर्थलाई मन्दिरमा परिणत गरिदिए ।
हिन्दूहरुले बौद्ध स्थललाई आफ्नो बनाएका स्थलमा प्रमुख हो पुरीको जगन्नाथ मन्दिर ।
स्वामी विवेकानन्दले ः जगन्नाथ मन्दिर एउटा पुरानो बौद्ध मन्दिर हो, हामीले यो र अन्यलाई लिएर फेरि हिन्दुरकण गरिदियौँ । हामीले अझै पनि यस्तै धेरै गर्नुपर्छ भनेका थिए ।
इतिहासकार डीएन झाले आफ्नो किताब अगेन्स्ट द ग्रेट नोट्स अन आइडेन्टिटी एण्ड मिडिवल पास्टमा ब्राह्मण शासक पुष्यमित्र बौद्धका उत्पीडक भएको लेखेका छन् । भनिन्छ कि पुष्यमित्रले विशाल सेनाका साथ बौद्ध स्तुपहरुलाई नष्ट गर्दै, मठलाई जलाउँदै र भिक्षुहरुलाई मार्दै सकल सम्म मार्च गरेको थियो, जसलाई अहिले सियालकोट भनिन्छ ।
इतिहासकार रोमिला थापरले आफ्नो किताबमा हिन्दू शासक पुष्यमित्र शुंगले अशोक महानले बनाएका ८४ हजार बौद्ध स्तुपलाई नष्ट गरिदिएको लेखेकी छन् ।
तर, धेरै इतिहासकारहरु डिएन झा र रोमिला थापर दुवैको दाबालाई एकतर्फि मान्छन् र यसको औचित्यतामाथि प्रश्न उठाउँछन् ।
द डिक्लाइन अफ बुद्धिज्म इन इन्डियाका लेखक प्रोफेसर सराओ दुवै पक्षका बीच स्थानीय या व्यक्तिगत स्तरमा सानोतिनो हिंसा भएको हुन सक्ने बताउँछन् ।


बौद्ध तीर्थस्थलको विध्वंस २
साँचीको स्तुप, कटनीको सतधारा, रीवाको देउरकोथर जस्ता बौद्धहरुका कयौँ तीर्थस्थलमा तोडफोड भएका प्रमाण पाइन्छन् ।
चन्देलोंको शानमा १० औँ शताब्दीपछि एउटा ठूलो मन्दिरको शहरका रुपमा प्रसिद्ध खजुराहोमा एकपटक बौद्ध प्रतिष्ठान पनि थियो ।
उत्तर प्रदेशको मथुरामा स्थित आजको भूतेश्वर र गोकर्णेश्वर जस्ता मन्दिर पुरानो समयमा बौद्धका स्थल मानिएका छन् ।
प्रयागराज नजिकै रहेको कौशाम्बीमा बौद्धहरुको घोसीताराम मठलाई पनि शुंगहरुले नष्ट गरिदिएको बताइन्छ ।
आर्कियोलोजिस्त एलोइस एन्टन फ्युहररले एउटा अनुसन्धानपत्रमा उत्तरप्रदेशको स्थिति अत्यन्त खराब रहेको र सुल्तानपुर जिल्लामा मात्रै ४९ बौद्ध स्थलमा आगो लगाएर नष्ट गरिएको लेखेका छन् ।


इस्लामिक शासनमा मन्दिर विध्वंस
भारतमा इस्लामको आगमन दुई तरिकाले भयो, पहिलो हो केरलमा व्यापारको माध्यमबाट र दोश्रो हो उमय्यद खलीफाद्वारा सिन्ध विजयमार्फत् । १७औँ शताब्दीको अन्त्यसम्म यसको राजनीतिक प्रभाव पुरै उपमहाद्विपभरि फैलिइसकेको थियो ।
१००० देखि १०३० ईस्वीका बीच महामूज गजनीले भारतमा धेरैपटक हमला गरे । यतिबेला अनि नै धेरै हिन्दू मन्दिरहरु नष्ट गरिए ।
पारसी इतिहासकार अल अतबीले गजनीले मथुरामा गरेको हमलालाई आफ्नो किताब तारीख ए यामिनीमा यस प्रकार लेखेका छन् ः शरका बीचमा अन्यभन्दा ठूलो र सुन्दर मन्दिर थियो । सुल्तानले त्यो देखेर त्यसको निर्माण गर्न कम्तिमा पनि २०० वर्ष लाग्यो होला भने । त्यसपछि सुल्तानले त्यस मन्दिरलाई आगो लगाएर धुलिसात पार्ने आदेश दिए ।
त्यस्तै अर्को उदाहरण सोमनाथ मन्दिरको पाइन्छ । यसलाई सबैभन्दा पहिला महमूद गजनीले १०२५ ईस्वीमा लुटे । यसपछि १२९९ ईस्वीमा अलाउद्दिन खिल्जीले तोडे । दोश्रोपटक बनाएपछि फेरि १३९५ ईस्वीमा गुजरातको एउटा मुस्लिम गभर्नर नष्ट गरिदियो । १६६५ ईस्वीमा मन्दिरको नयाँ अवतारलाई मुगल सम्राट औरंगजेबले तोडिदिए ।


इस्लामिक शासनमा मन्दिर विध्वंस २
प्रोफेसर डेविड लोरेन्जनका अनुसार इस्लामिक शासनमा हिन्दूहरुको उत्पीडन स्टेट स्पोन्सर्ड थियो, अपितु यसको संख्या धेरै भने थिएन ।
केही हिन्दू संगठनहरुले मुस्लिम शासकहरुले करिब ६० हजार मन्दिरहरु ध्वस्त गरेको दाबा गर्छन् । तर डिएन झा र रिचर्ड ईटन जस्ता इतिहासकारहरुका अनुसार ८० वटा हिन्दू मन्दिरहरुलाई नोक्सान पुर्याइएको थियो ।
ध्वस्त हिन्दू मन्दिरहरुको संख्यामा इतिहासकार हरवंस मुखिया भन्दछन् ः ६०को दशकमा अखबारहरुमा ३०० मन्दिर तोडिएको संख्या आउन सुरु भएको थियो । त्यसको दुईतीनवर्षपछि ३०० बाट ३ हजार र तीन हजारबाट तीस हजार भए ।
मन्दिरको वास्तविक संख्यामा नजाँदा पनि अयोध्या, कन्नौज, मथुरा, वृन्दावन, वाराणसी र इहालाबादमा प्रमुख हिन्दू पवित्र स्थलका कयौँ ऐतिहासिक मन्दिर अहिले विद्यमान छैनन् । यी मुस्लिम शासकको हमलाका शिकार भए ।
सन् १९९० मा इतिहासकार सीतराम गोयलले अरुण शौरी, हर्ष नारायण, जय दुबाशीराम स्वरुपका साथ मिलेर एउटा किताब लेखे ः हिन्दू टेम्पल्सः ह्वाट ह्यापेण्ड टु देम
त्यसमा भारतभरी १८०० भन्दा धेरै विवादित ढाँचाको सूचि बनाइएको थियो, जुन मन्दिरको स्थानमा या नष्ट गरिए या मन्दिरका सामाग्रीको प्रयोगले बनेका थिए ।
यसमा बाबरी मस्जिद, ज्ञानवापी विवादित ढाँचा, पिन्जौर गार्डेन र अन्य कयौँ चर्चित स्थानको उल्लेख पाइन्छ ।


दैनिक भास्करबाट अनुदित
लेखक ः आदित्य द्विवेदि
अनुवादक ः पृथ्वीराज पोख्रेल