ओली सरकार विरुद्धमा प्रचण्ड/माधवकुमार नेपाल समुहले आन्दोलन गर्दाताका एकजना छिमेकी दाजुसँग भृकुटीमण्डपमा जम्काभेट भयो, मैले सोधेँ कता दाजु ? उहाँले हाँस्दै जवाफ दिनुभयो “उहि प्रतिगमन विरुद्धमा आन्दोलन क्या भाइ…!” पुरै जीवन नै आन्दोलन भन्दै दौडिँदै बित्ने भयो भन्दै फिक्का मुस्कुराउँदै बिदा हुनुभयो।
२०४७ सालदेखि यताको ३० वर्ष सम्मको हाम्रो प्रगति भनेको नै आन्दोलन हो । त्यसमध्ये १२ वर्ष त जनताको नाउँमा युद्ध नै भयो । १७ हजार मानिसको नरसंहार भएपछिको परिवर्तन भनेको फेरि उहि जात-जातिको अधिकारको नाउँमा आन्दोलन ।
हामी अहिले यही आन्दोलनको युगमा छौं । हाम्रो सञ्चार जगत् हाम्रो बुद्धिजीवी जगत् अनि हामी श्रोता पाठक भुँईमान्छे यही जातिवादी आन्दोलनको विभिन्न मुद्दामा अल्झिँदै अल्झाउँदै क्रिया-प्रतिक्रियामा मस्त छौं । तर यो ३० वर्षमा कसैले पनि आर्थिक मुद्दामा न त आन्दोलन गरेको छ न त उच्चारण नै गरेको छ । न त कुनै सत्तापक्ष र विपक्षी पार्टी बिचमा आर्थिक मुद्दामा कुनै बहस विवाद नै भएको छ ! तर हाम्रो देश प्रति वर्ष ऋणको भारले थिचिँदै गइरहेको छ यहाँनेर कसैलाई चिन्ता छैन !
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार एक वर्षमा व्यापार घाटा झन्डै १४ खर्ब रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो रकम २७.२६ प्रतिशत बढी हो । २०७६/७७ मा मुलुकको व्यापार घाटा १० खर्ब ९९ अर्ब ८ करोड रुपैयाँ थियो। अहिले भने घाटा चुलिएर १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको विभागको तथ्यांक छ। आर्थिक रूपमा भयावह अवस्था हो यो । यस्तो त कुनै पनि मुलुकमा युद्धको समयमा मात्रै हुन्छ तर यहाँ कसलाई यस्तो विषयमा चिन्ता ?
प्रसंगमा प्रवेश
तामाङ् जातिको बाहुल्य क्षेत्रमा पर्ने तातोपानी कोदारी राजमार्ग बनेपछि नेपालको चीनसँग एकमात्र व्यापारिक राजमार्ग हुन पुग्यो ।
यो बाटोबाट नेपाल चीनको कारोबार बढेसँगै स्थानीय तामाङ् जातिमा पनि सिमावर्ती व्यापारको प्रभाव बढ्दै गयो उनीहरु सिमा वारपार व्यापारमा सामान्य मजदुरीदेखि होटल, खुद्रा पसलसम्म संलग्न हुँदै कारोबारमा पनि हात हाल्दै गए ।
स्थानीय तामाङ् जातिको आर्थिक स्तरमा यो राजमार्ग र यहाँबाट हुने दुई देशिय ब्यापारीक कारोबारले जीवन निर्वाहमा कायपलट ल्याइदिएको थियो। पछि अन्य जिल्लाका नेपालीले पनि खासाको ब्यापारमा आवतजावत गर्दै संलग्न हुन थालेपछि तत्कालीन सिन्धुपाल्चोक जिल्लाका सांसद पशुपतिशमशेर राणाले सिन्धुपाल्चोक जिल्लाको लागि मात्रै आवागमन गर्न पाइने भनेर नियम नै बनाएर खासाको ब्यापारमा स्थानीयको पकड सुरक्षीत गर्ने काम गरेका थिए ।
खासाको ब्यापारले लाखौं तामाङ् समुदायको रोजीरोटी जुटाएको थियो भने हजारौं तामाङहरुको आर्थिक स्तर माथि उठेको थियो ।
अहिले काठमाडौमा ठुला-ठुला महल बनाएर बस्ने अधिकांश तामाङहरु कि त “खासा” व्यापार बाट की भने गलैँचा उद्योग बाट गरेको आम्दानी बाट माथि उठेका हुन् ।
केही वर्ष अगाडि म तातोपानी पुग्दा बजार सुनसान थियो। ठाउँ ठाउँमा बाटो भत्किएको त थियो नै कुनै बेला सिंगो नेपालको चीनसँग कारोबार हुने यो त्यही बाटो हो र ? भनेर सोच्न वाध्य भएँ ।
नजिकै एकजना तामाङ् दाईको चिया पसलमा गएर हालचाल सोधेँ, उनको ग्राहक भनेको छेउमा एउटा प्रोजेक्ट चल्दै रहेछ तिनै मजदुर र वरिपरिको गाउँले आएर “तीनपाने” सुरुप्प पार्न आउने ग्राहकमा निर्भर रहेछ।
मैले सोधेँ यतिले घरखर्च चल्छ र ? उनले निरास हुँदै भने “के चल्नु हजुर ! छोराले साउदी बाट अलिअलि घरखर्च पठाउँछ, यो बाटो खुलेर खासाको ब्यापार फ़ेरि चल्छ की भनेर कुरेर बसिरहेको मात्रै हो ।
मैले फेरि सोधेँ “अब पनि खुल्ला र ? उनले भने ” खै हाम्रो नेताहरुले खुलाउछु भन्दै छ । यो घरजग्गा मैले यहाँनेर किन्दा काठमाडौमा भनेको ठाउँमा एउटा घर आउँथ्यो हजुर ! ब्यापार पनि त्यस्तै हुन्थ्यो अब अहिले बेच्ने हो भने एउटा ट्याम्पु पनि आउँदैन भन्दै हा…हा…… गर्दै हाँसे !
चालीसको दसक तिर तामाङ सेलो सुन्न मन लागे गलैंचा फ्याक्ट्रीमा गए हुन्थ्यो । प्रायः सिन्धुपाल्चोक जिल्लातिरका तामाङ् युवायुवतीहरु गलैंचा बुन्दै सेलो गाउँदै गरेको काठमाडौमा सामान्य लाग्थ्यो । एकछत्र तामाङ महिला पुरुष मात्रै हुने गर्थ्यो।
गलैंचा उद्योगको सुरुवात तिब्बती शरणार्थी नेपाल छिरेर बस्न थालेपछि तिनीहरुलाई आत्मनिर्भर बनाउन भूगर्भशास्त्री टोनी हागनले नेपाल सरकारलाई सुझाव दिएर तिब्बतीहरुको परम्परागत सीप लाई सदुपयोग गर्ने उद्देश्यले गलैंचा उद्योग तिब्बती शरणार्थी क्याम्प जावलाखेलमा २० को दसकमा सुरु गरिएको थियो ।
त्यहाँ बाट उत्पादित गलैँचा युरोपको बजारमा व्यवस्था गर्ने काम भयो, यो उद्योगमा पछी बढ्दै गएर २०४६ सालसम्म १ लाख मजदुर संलग्न भैसकेका थिए । त्यसमध्ये तिब्बती शरणार्थी मात्रै १५ हजार थिए ।
नेपालमा वैदेशिकमुद्रा आर्जन गर्ने सबैभन्दा बढी गलैंचा उद्योग भयो यसको अवशान हुनुअघि सन् १९९६/१९९७ मा मुलुकले ८ अरब १६ करोड ४० लाख रुपैयाँ मुद्रा आर्जन गरेको थियो।
टोनी हागन आफ्नो पुस्तकमा लेख्छन् “एकजना पत्रकारले भने जस्तैः तिब्बती शरणार्थीलाई अँगाले बापत तिब्बतीहरुले नेपाललाई दिएको उपहार हो गलैँचा उद्योग।” असंख्य नेपालीहरुले विशेषगरी काठमाडौ उपत्यका वरिपरि बस्ने तामाङ जातिका मानिसहरूले गलैंचा व्यवसायबाट पहिलोपटक नगद आम्दानी गर्न सकेका छन् !” – पुस्तक “नेपालको चिनारी”- टोनी हागन
२०४७ मा बहुदलिय व्यवस्थाको आगमनसँगै अधिकारको आन्दोलन चर्किन थाल्यो बिस्तारै बिदेशी INGO हरुले अधिकार माग्न, विभिन्न संघसंस्था खोल्दै गए ।
त्यसमध्ये एउटा थियो बालबालिकाको अधिकार । त्यही बालअधिकार नाम गरेको संस्थाले गलैँचा उद्योगमा बालश्रम परेको छ भनेर नेपालको गलैँचा खपत हुने युरोपेली बजारमा प्रचारप्रसार गरेर नेपाली गलैंचा किनेर बालश्रमलाई प्रश्रय नदिन भन्दै अपील नै गरे ।
यसरी नेपाली गलैँचा बिस्तारै बिक्रीवितरण कमहुँदै एकातिर गइरहेको थियो भने अर्कोतिर नेपाली कम्युनिस्ट पार्टीहरुले मजदुर अधिकारको नाउँमा गलैंचा उद्योगमा ट्रेड युनियन खोल्दै परेड खेलाउन थाल्दै गएपछि नेपालको गलैँचा उद्योग आज एकादेशको कथा जस्तो हुन पुग्यो ।
लाखौं तामाङ समुदायको आर्थिकपक्षसँग जोडिएको तातोपानी कोदारी राजमार्ग र गलैँचा उद्योगको दुर्भाग्यपूर्ण अवसानले तामाङ समुदायको मुख्य आर्थिक आर्जन गर्ने श्रोत सुक्न जानाले आजका तामाङ युवायुवतीहरु ५० डिग्रीको तापक्रम हुने खाडीमा काम गर्न जान विवश छन् ।
तर, अचम्मको कुरो चाहिँ त्यही खाडीमा बेल्चा चलाउँदै त्यही तामाङ समुदायका युवाहरूचाहिँ सामाजिक सञ्जालमा यसरी लेख्दै बस्छन् “राजाले हामी तामाङलाई शोषण गरेको थियो ! अब तामाङ मुक्तिमोर्चा बनाउन पर्छ ! अब ताम्सालिंग माग्न पर्छ भन्दै यही तातोपानी राजमार्ग बन्द गराउने यही उद्योग कलकारखाना बन्द गराएर लाखौं तामाङलाई बेरोजगार बनाउने नेताहरूका तस्वीर फेसबुकमा राखेर जयजयकार गर्दै छन् ।
(मोहन लामा रूम्बाको फेसबुक बाट साभार गरिएको ।)
लामाका विचारमा प्रकाशित अन्य लेखहरू पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।)