शे-फोक्सुण्डो यात्रा : पुरातन नेपालको झल्को

शे-फोक्सुण्डो यात्रा : पुरातन नेपालको झल्को

२०७४ साल चैत्रमा रारा पुग्दा म एकपटक नेपालको अपार सौन्दर्य देखेर भावविभोर भएको थिएँ । चकित भएको थिएँ । एकक्षण त मलाई यस्तो लाग्यो कि म साँच्चै नै आँफुले सोचेभन्दा राम्रो स्वर्गलोकमा आइपुगेँ । लाग्यो म.वि.वि शाहले रारालाई अप्सरा मात्रै भनेर राराको अपमान गरे ।

राराको बनोट अवस्थिति र रुपलाई हेर्दा म दंगदास रहेँ । पुराणहरुमा वर्णित सरोवर भन्दा कम थिएन रारा । अप्सरा हरुको स्नानस्थल र राजहंसको क्रिडास्थल रारा साँच्चीकै अनुपम थियो । रारालाई हेरेर लाग्थ्यो कि रारा सँधै नै यसरी नै लुकेर रहोस् । यसको कुमारी सौन्दर्य माथि कसैको आँखा नलागोस् । भीडभाड बढेर फेवातालजस्तै पानी छुनपनि घिनलाग्ने नहोस् रारा भनेर रारायात्राभर मैले कामना गरिरहेँ । चैत्रमा पनि हिउँ ले ढाकिएर राराले दोश्रो दिनमा मलाई राम्रै आतित्थ्यता देखाइन् । तर त्यो सोचाइको केही महिनामै केपी ओलि रारा पुगेर पर्यटक बढ्ने उपाय गरे । मैले राराको प्रसंग तल आउने एउटा वाक्यका लागि जोडेको हुँ । हुन्छ त अब हिँड्नुस् म सँगै म तपाइलाई देशको सबैभन्दा गहिरो ताल र मनोरम ताल फोक्सुन्डो लैजान्छु ।

२०७५ असोज आठ गते गोर्खा गोरख गुफामा गुरु दर्शन गरेपछि हामीले फोक्सुन्डो जाने योजना बुन्यौं । युट्युब का भिडियोहरु र पहिले घुमेर आएकाहरुको इन्टाग्राम स्टोरी अनि भ्लगहरु हेरेर हामीले यात्राका प्रत्येकदिनको दूरी, लक्ष्य, विश्राम अवधि र रकमसम्मका कुराहरुको अन्दाज लगायौँ । यात्राको बिचमा होटलहरु नपाइनसक्ने अवस्थालाई ध्यानमा राखेर चाउचाउ विस्किट र चकलेट लगायतका सामानहरु तथा प्राथमिक उपाचारका साधन र औषधीहरु ब्याकप्याकमा राख्यौं । ११ गते बेलुका रात्रि बसमा हिँड्ने योजना बनाएर हामीले १० गते नै काठमाडौं बाट नेपालगञ्जका लागि छुट्ने नमस्ते यातायातको ८९४१ नम्बरको गाडीमा बि साइडका ३ देखि १० सम्मका आठबटा सिट बुक गर्यौं ।

पहिलो दिन
११ गते बेलुका ७ बजे गाडी बसपार्कबाट हिँडेपनि कलंकीको प्रसिद्ध जामले गर्दा गाडीले नैकाप आइपुग्दा नै १० बजाइदियो । अरु ७ जना साथिहरु उतैबाट चढ्नुभएको थियो । म नैकापबाट चढेँ । फेरि नागढुङ्गामा जाम पर्यो २ घण्टा । गाडीमा नै जाम र बाटो देखि सरकार हुँदै देश विदेशका प्रगति लगायत भविष्यमा गर्न सकिने योजना र उपायसम्मका कुराहरु भए । बहस भए । गाडीले रामघाट पुर्याएर खानाखान रोक्यो । कसैले खाना र कसैले रोटी खाँदा एउटा पानीसहित हिसाब १२५० को आयो । साथी इन्द्रलाई हिसाबकिताबको जिम्मा थियो उहाँले पैसा तिर्नुभयो । बिहानको खानाको लागि छप्परगौडीमा रोक्यो । हामीले बेलुका (बिहानको ३ बजेको थियो तर) नै मनग्गे खाएको हुँदा खाना नखाएर चिया र केही पकौडा खायौं । दिउँसो १ बजेको चर्को गर्मीमा गाडीले नेपालगञ्जको पुष्पलाल चोकमा झारिदियो ।
हामीले दशैं अगावै घरपुग्ने लक्ष्य बनाएर फोक्सुन्डोबाट फर्किँदा प्लेनमा आउने योजनाका साथ नेपालगञ्जको राँझा एअरपोर्टमा उताबाट फर्किनेबेलाका लागि टिकट लिन गयौं तर त्यहाँ कुनैपनि एअरलाइन्सका कर्मचारी भेटिएनन् । तारा एअरलाइन्सले यताबाट पाइँदैन उतैबाट लिनुहोला भनेर हामीलाई फिर्ता पठाइदियो । हामी हल्का खिन्न भयौं । प्रतिव्यक्ति १८० का दरले बसपार्क कै एउटा होटलमा सादा खाना खायौं ।

दोस्रो दिन (नेपालगञ्जदेखि राडी)
नेपालगंजबाट ७२२ नम्बरको गाडीमा बेलुका ५ः०० बजे राडीका लागि हिँड्यौं । राडी शब्दोच्चारणलाई लिएर केही बहस पनि भयो । कसैले राडी भने कसैले राढी भने त कसैले राँडी पनि अनि कसैले रारी तर राडी शब्दको अर्थ भने पत्तो पाउन सकिएन । गाडीमा हुने अरुले हामीलाई कहाँबाट आएको ? कता जाने ? आदि इत्यादि प्रश्नहरु सोधे र काठमाडौं बाट सिधै जाजरकोट जाने गाडी पाइन्थ्यो पनि भने । सुर्खेतको छिन्चुमा पुगेर रातीको खाना खायौं । नेपालगञ्जकै दरमा खानाको हिसाब भयो । जाजरकोट कटेपछि गाडीले रिम्नामा विजय होटलमा हलुका बनायो । चिया खाएर ताजा भयौं । गाडीका स्टाफहरुसँग नेपालगञ्जमा तेलको लाइनमा बस्दा हामीले गरेको सहयोगका कारण छिटै हिमचिम बढेको थियो त्यसैले बाटोका ठाउँ नाउँ र विशेषताहरु अनि धानका जात हरु सोध्दै हिँड्यौं ।
घरहरु बाइसे चौबिसे कालका राजाका दरबार शैलिका थिए । बाहिर बाट हेर्दा एकै तला देखिए पनि भित्रबाट तीनतला तिए । एउटै छानो थियो । पाखेछानो थिएन । भेरी ले सिंचेका खेतहरुमा बाँके ज्यूला धान लहलह झुलेका थिए । रिम्ना बाट केही अगाडी गएपछि ठूलिभेरी र सानी भेरी छुट्टिए भने हामी ठूलीभेरीको किनारकिनार जाँदा बिहान ८ः४० मा हामी राडी पुग्यौं । त्यही क्षेत्रबाट चुनावजितेका केन्द्रिय नेता गएका कारण चहलपहल बढ्दो थियो तर हामीले भीडतर्फ ध्यान नदिएर यात्रातिर नै ध्यान दियौं ।

तेस्रो दिन (राडी देखि खदाङ्सम्म)
हामीले छिटोभन्दा छिटो फोक्सुन्डो पुग्नुथियो त्यसैले राडीमा चिया नास्ता केही नखाई गाडीको लागि हतार गर्यौँ । ९ः०० बजे जाने गरी महिन्द्रा जिप पाइयो र लगत्तै हिँडिहालियो । ड्राइभरको गल्तीले गर्दा गाडीले बाटो बाहिरको बाटो समात्यो तर बाँचियो । बाटोमा सानासाना झरनाहरुले हाम्रो छतको यात्रालाई रमाइलो बनाउन भरमग्दुर प्रयास गरे । हरबखत इअरफोन लगाएर गीत सुन्नुपर्ने हामीलाई भेरीले आफ्नो संगीतमा भुलाइदियो । प्रतिव्यक्ति ४०० रुपैंयामा जिपले हामीलाई तल्लो बगर झारिदियो ।

तल्लोबगर पुगेर हामीले तास किन्यौँ । खाना पनि खायौँ । तल्लोबगर र माथिल्लोबगर लाई एउटा झोलुंगे पुलले जोडेको थियो जसका कारण हामीले पुनः अर्को गाडी चढ्नुपर्ने भयो । यतातिर हेलिबाट गाडी ल्याइँदो रैछ अनि खोलावारि-पारि चाहिँ तुइनको सहाराले लगिने रहेछ । माथिल्लोबगरबाट त्रिवेणीसम्म प्रत्तिव्यत्ति रु. ६०० का दरले भाडा तिर्ने सर्तमा त्यहाँबाट हिँड्यौँ । चालक र सहचालक हाम्रै उमेरका लक्का जवान भएका कारण रमाइलो गफ गर्दै गइयो । चालकले बिहे पनि गरिसकेका रहेछन् । बालविवाह थुप्रैको हुने रहेछ यतातिर । १५ १६ बर्षमै बिहे गर्दारहेछन् । भेरीमा खसेको ट्रक्याक्टर आफ्नै साथीले खसालेको र दुइजनाको मृत्यु भएको घटना पनि उनले हामीलाई सुनाए । बाटो मर्मत भैरहेको हुँदा हामी एकाध घण्टा रोकिनुपर्ने भयो । चालकले हामी सबैलाई काँक्रो र नून खुर्सानी खुवाए । हामीले उनको सहृदयतालाई हृदयदेखिनै धन्यवाद भन्यौं । त्रिवेणी पुग्दा ४ बजिसकेको थियो र अगाडी बाटोमा ठाउँठाउँमा पहिरो गएकाले गर्दा गाडी नजाने भएपछि हामीले खाजा खान नरोकिई हिँड्ने विचार गर्‍यौं ।

बाटो राम्रै फराकिलै रहेछ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेका रहेछन् । बिचबिचका पहिरोहरुमा हामी छिटोछिटो पाइला चाल्थ्यौं । साथी दिलिप पंगेनीले हामीलाई क्यामेरामा कैद गर्थे । त्रिवेणी र खदाङ् बिचमा आउने सानो गाउँ रैछ कराप्गाड । त्यसैको नजिकै बसेर हामीले चाउचाउ खायौं । भेरीको पानीले र दिनभरको भोकले गर्दा चाउचाउको स्वाद असोचनीयरुपले मिठो भएको थियो ।

कराप्गाडको घरमा एउटा मात्रै वृद्धले खाना बनाइरहेको देखेपछि हाम्रो मन अमिलो भयो । केही राजनैतिक चेत पनि भएका कारण हाम्रो अमिलोपना युद्धका कारणहरुतिर गयो । रुकुम रोल्पा माओवादी युद्धले ग्रस्त थियो कतै यी वृद्धका छोराछोरी पनि त्यसैको शिकार पो भएकि भन्ने कुरा गर्दै हिँड्दा हामीले आफ्नो बाटो कटेको पत्तै पाएनौँ । स्थानीय एकजना साथीले हामीलाई राडीदेखि गाडी, होटल लगायतका कुरामा सहयोग गर्दै हामीसँगै आएका थिए , एउटा पुल आएपछि उनले हामीसँग बिदा मागे ।

ठूलीभेरी का तीरमा फूलहरु असंख्य फूलेका थिए । ठूलीभेरीको गाढा निलोपनाले गर्दा ती फूलको शोभा बढको थियो । लाग्थ्यो कुनै दरबारिया बाटिका हो । नदीका सांगितिक तालसँग हामीले पाइलाका चाल मिलाउँदै मस्त भै हिँडिरह्यौँ । ६ः४५ मा खदाङ्मा हाम्रो पाइला अडियो । थाकेका थियौं पहिलो होटल थियो भोक उपचार केन्द्र । आजको रात यहीं बस्ने निर्णय गरियो । खाना खाएर भेरी छेउमा बिस्तारा लगाउँदा भेरीको घनाआवाज भित्रबाट आएको छ्याङ्छ्याङ् आवाजले मलाई “ॐ” को उत्पत्तिबारे सोच्न बाध्य बनायो । यीनै महान् नदीको उपज होला हाम्रा ऋषिमनमा “ॐ” को उत्पत्ति ।

चौंथो दिन (खदाङ् देखि कागेनी सम्म)
खदाङ् भोकउपचार केन्द्रमा हिसाबमिलान गरेर चियापान गरेर हामीले यात्रालाई निरन्तरता दियौं । ७ बजे हामी खदाङ् चौकीमा नाम लेखाएर अगाडी बढ्यौं । बिचबिचमा सानासाना गाउँहरु थिए । सानासाना गाउँका सानासाना नानीबाबुहरु ठूलाठूला ओखरले खोपी र गुच्चा खेलिरहेका थिए । बडेबडे चिलीमबाट गाँजाका धुँवाहरु उडीरहेका थिए । आर्मीले बाटो निर्माण गरिरहेको थियो स्थानिय सँग मिलेर । बम राख्नका लागि पहराहरुमा प्वाल बनाइँदै थिए । कतै विस्फोटका आवाज सुनिए ।

एउटा सानो भाई हामीतिर आइरहेथ्यो । उसले पछाडी बोरामा केही बोकेको थियो । हामीले के हो भनेर सोध्यौँ । उसले स्याउ हो बेच्न लाने राडी भन्यो । हामीले कसरी बेच्छौ ? भन्यौं । उसले ५ रुपैंया गोटा हो भन्यो । हामीले १६ वटा स्याउ किन्यौं । सानो भाइ पनि खुशी भयो हामीपनि सस्तो डोल्पाली स्याउ खानपाएर खुशी भयौँ । डोल्पाली स्याउ साह्रै रसिलो । दुइवटा स्याउले अघाइयो । त्रिपुराकोट सम्म पुग्ने बल पनि आयो ।

माथिपट्टी वालात्रिपुरासुन्दरी मन्दिर देखिइरहेको थियो । हामी ४ घण्टा लगातार हिँड्दा थाकेका जस्तै भएका थियौं । त्रिपुराकोट वालासुन्दरीमन्दिर पहाडको फेँदीमा ठूलीभेरीको मिठो हावा चलिरहेको थियो । त्यहीं सुस्तायौँ हामी । मित्र पंगेनीले मुरली बजाउनुभयो । त्यो क्षण वास्तवमै अलौकिक थियो । स्वर्गीय थियो । एउटा सानोखोलामा नुहाउने योजना बनाएपनि ननुहाइकिनै हामी त्रिपुराकोट बजार पुग्यौँ ।

बजार हामीले सोचेभन्दा धेरैनै व्यवस्थित र विकसित रहेछ । मोबाइल घडी लगायत इलेक्ट्रोनिक्स सामानहरु अत्यधिक थिए । नेपालगञ्जदेखि मोबाइल र क्यामेरा चार्ज गर्न नपाएको हुँदा हामिले यहाँ आएर ५० रुपैंया प्रतिथान तिरेर चार्ज गर्यौँ । ११ बजेको थियो हामी यहाँ आइपुग्दा ।

माछापुच्छ्रे बैंकको शाखा विस्तार भएको रहेछ भर्खरै । पक्की पुलिस चौकि र व्याड्मिन्टन कोर्ट पनि रहेछ । मन्दिरको भव्यताले यो बजार पनि हामीलाई भव्य लाग्यो ।

८ जनालाई एकैठाउँमा खाना बनाउँदा ढिलो हुनसक्ने मानेर ४ जनाले नयाँ नेपाल जाजरकोटी गेष्ट हाउसमा र ४ जनाले कनका सुन्दरी होटल एण्ट गेष्ट हाउसमा खाना खायौं । जाजरकोटी होटलको दाईले टुरिष्ट पनि गाइड गर्दा रहेछन् । उनैले हामीलाई दुनै नपुगीकिनै सुलिगाढ बाट कागेनी जाने सल्लाह दिए जुन उपयुक्त सल्लाह थियो । यहाँ त खानाको जम्मा १५० पो रहेछ । जबकि सर्बसुविधासम्पन्न नेपालगञ्जमा यहाँ जत्तिको पनि नपाइने खानाको १८० पर्छ । यहाँ त खच्चडले सामान बोक्छ अझ । स्थानीय महिला र बच्चाहरु स्याउ बेच्न बसेका थिए । हामिले हाम्रा जंकफुड नखाने निधो गरेर स्थानीय सामान खरिद्ने निर्णय गर्यौँ । हामी त्यसलाई किन्न समर्थ थियौं र यसले उनीहरु पनि खुशी हुन्थे । ती अबोध अनुहारमा खुशी देख्नुको आनन्द त शब्दमा लेख्न सकिन्न ।

त्रिपुराकोट बाट सुलिगाढ सम्म गाडी चल्ने भएपनि हामीले हिँडेरै जाने भयौं । अबको बाटो भने साँच्चिनै सुन्दरतम र मोहनीय थियो । नदी त हामीले नेपालगञ्ज छाडेदेखि नै छाडेका थिएनौं तर अब भने नदीको पानी छुँदै पनि हिँड्न पायौँ । बच्चाहरु नाङ्गै पौडि खेलिरहेको दृश्यलाई हाम्रो क्यामेरा र स्मृतिले कैद गरे । समुद्रका बिचजस्ता देखिने ठूलाठूला बगरे किनारमा फोटो खिच्ने काम पनि गयौँ ।
गाइगोरु हरु प्रसस्त देखिन्थे । बिचबिचमा एकादुइ घर देखिन्थे । घोडाहरु चरिरहेका थिए । खुर्सानी खेतिपनि राम्रो हुने रहेछ । तिहारमा पुजिने व्यामिरो का प्रसस्तै रुख र फलहरु पनि देखिए । कालागौंडा भन्दा अलिवरै पुलमा बच्चाहरु देखिए । हामीसँग पैसा पनि मागे । हामीले अलिअलि दिएजस्तो पनि गर्यौँ । उज्याला भए केटाकेटी
केहीेबेरमा कालागौँडा पुग्यौँ । चौकि भर्खरै जुफाल सर्ने कोशिस गर्दै रहेछ । पुलिसदाइले पानी खुवाए । सुलिगाढ अब १० मिनेटमा पुग्नुहुन्छ भनेर हामीलाई आश्वासन पनि दिए तर हामी ४५ मिनेटमा पुग्यौँ । हामी सुलिगाढ पुग्दा ५ बजिसकेको थियो । आर्मी पोष्टमा इन्ट्री गराएर शे फोक्सुन्डो रा.नी मा प्रवेश गरियो । रा.नी को गेटमा फोटो पनि खिच्यौं । रमाइलो पुल रैछ । फराकिलो भएर बगेको नीलो फोक्सुन्डोलाइ पनि क्यामेरामा भर्यौँ । अब यहाँबाट फोक्सुन्डो र ठूलिभेरी पनि छुट्टिए भने हामी फोक्सुन्डो खोलालाई काठमाडौंको धुलो र धुँवा का कहानी सुनाउँदै हिँड्यौँ । फोक्सुन्डोले हामीलाई भीम र राक्षसीको कथा, खोला र चराको गीत सुनाउँदै मोहनी लगाउँदै बग्यो ।
फोक्सुण्डो खोला असाध्यै निर्मल थियो शिशु को मन झैं । कति स्वच्छ थियो पानि । कति सफा वातावरण । दर्शनढुङ्गासित लडिबुडि खेल्दै आएको पानिको स्वाद नै अर्कै थियौ । आफ्नै स्वाद लाग्थ्यो । मौलिकपन लाग्थ्यो । हामीलाई हरेक पाइलाले देशप्रेम सिकाएझैं लाग्थ्यो । खोलाको हरेक कलकल ले अर्ती दिएझैं लाग्थ्यो प्रेम र परहित को । बाटो रमाइलो भन्दा रमाइलो बन्दै गैरहेको थियो तर गाह्रो थियो । बिचबिचमा खच्चडका लस्करले झुक्क्याउँथे पनि । दिन ढलिसकेर सन्ध्याको लालि पहाडका टाकुरामा टल्किरहेको थियो, रात शनैः शनैः मौलाउँदै थियो । हाम्रा पाइलाहरु अझै रफ्तारमा बढ्न थाले । रातको ७ः२० मा कागेनी पुगियो । कागेनीको सुनिता होटलमा हामी बस्यौं । सुनिका दिदी कार्की रैछिन् । केटाकेटाहरु माथि पढ्दा रहेछन् । होटलको परिसर ठूलो थियो । चौरमा सुतेर आकाशका ताराहरु हेर्न थाल्यौं । कुनैकुनै मसिना ताराहरु हिंडिरहेका देखिन्थे भने त्यसैबेला साथिहरु कुनै इच्छा माग्थे । खाना खाएर सुत्यौं । यहाँ भने बिजुली थियो तर रातीमा मात्रै आउँदो रहेछ । खाना नास्ता र वास को जम्मै गरेर ८ जनाको ४३०० तिर्यौँ ।

पाँचौं दिन
अभिषेक रेग्मी भाइले लगेको सातु तिब्बतियन चियासँग खाएर हामी ८ बजे कागेनीबाट निस्क्यौं । चिसोको मात्रा हल्का बढेका कारण हाम्रो जिउमा एकतह ज्यकेट थपियो भने चप्पल लगाइरहेका खुट्टामा जुत्ता । बिहान हिँडें अलि छिटो हिँडिन्छ भनेर हामी सकेसम्म धेरै हिँड्ने योजनामा थियौँं । बाटोभरी गाँजा नै गाँजा थियो । हावा पनि गाँजा को गन्ध मिसिएर मात्रै नाकसम्म आइपुग्थ्यो । गाँजा यतिबिधि देखेर नै देशले गाँजालाई लिगलाइज गरेदेखि र केही नियमहरु तोकिदिए यसबाट मनग्गे आम्दानी हुन्थ्यो कि भन्ने वहस पनि हामीले गर्यौँ । दुइसमुह विदेशी पर्यटक यो बाटोमा भेटिए । एकादुइ ओखरका बोटहरु पनि देखिन थाले । घरहरु सबै खालि थिए । गएर बस्न पनि मिल्ने देखिए कुनै फिल्ममा देखाएजसरी(साउथको नानीको फिल्ममा छ) । पुराना पुराना सल्लोका रुखका बोक्राहरु कलात्मक रुपका छुटिएका चिरीएका थिए । लाग्थ्यो कुनै एब्स्ट्रयाक पेन्टिङ् यी रुखहरुमा गरिएको छ ।फोटोग्राफिका सौख भएका साथिहरुले विभिन्न एंगलमा त्यसका फोटोहरु खिचे । बाटोमा हामीले लगेको बदाम खायौं । केही समयपछि हामी ११ बजे छेप्का पुग्यौं । खाना बनाउने जिम्मा सम्झना होटललाई दियौं । खाना बनेर खान नै २ घण्टा लाग्यो । हामीले त्यतिबेलासम्म नुहाउने र आरु खानेसम्मका काम हरु सक्यौं ।
दिउँसो एक बजे हामी खाना खाएर फेरि हिँड्यौँ । शरीरमा खानाले तागत भरिदिएको थियो । बाटोमा एकादुइ चौरी लिएर हिँडेको पनि देखियो । बाटो खोला को छेउछेउ नै थियो कतै उक्लने कतै ओर्लने । बाटोभरी हाडेओखर थिए । किराले हो या चराले हो ओखरका दुइतिरबाट विचमा प्वालपारेर सबै खाँदो रहेछ । तर हामीले खान सकेनौं । हिँड्याँैं । बाटोमा पर्ने सानासाना काठेपुलपुलेसाहरु चित्तचोरजस्ता थिए । सबै पुलमा केही न केही फोटो खिच्यौँ नै । जंगल अनि खोलाको छेउछेउ नै थियौं ठाउँ थाहा भएन तर ठिक्क सुस्ताउने ठाउँमा चिया खाने ठाउँ रहेछ । तिब्बतियन चिया जति अर्डर गरेपनि भाँडाभरी पकाएर ल्याइदिने रहेछन् हामीले मनग्गे चिया खायौं । चिया सस्तो पनि र धेरै पनि । मनाङ् मुस्ताङ्का ले जस्तो तातोपानी लाई पैसा पनि नमाग्ने । जति भन्यो उति दिने । डोल्पाली हरु साह्रै सोझा लाग्यो । लाग्यो विकासले मानिसलाई जर्जरपनि बनाउँदो रहेछ । ५ बजे रयाँचि पुग्यौं । र त्यहाँबाट एकाधघण्टा हिँडेपछि २वटा बाटो आए । हामीलाई फसाद पर्यो । बाटोनिर्देशको कुनै चिन्हपनि रात भएकोले देखिएन र फोक्सुन्डो खोला र अर्को खोला पनि मिसिएकाले कुन चाहिँ खोला को तीरतीर जानेहो भन्नेपनि दोधार भयो । हामीले म्याप्स डट मि खोल्यौँ त्यसले सही दिशा देखायो र काठमाडौं फर्केपछि फाइस स्टार रेटिङ् हान्छौं भनेर हामी हिड्यौँ । एउटा हराएको घोडा भट्किरहेको थियो । बेलुका ७ बजे हामी बाघराल पुग्यौं सम्झना होटलमा । त्यहाँको राम्रो होटल रहेछ । हामीले बेलुका ढिंडो पनि खायौं । आरादायी कोठा र बिस्तारा रहेछन् । दिनभरको थकान ढिंडो र राम्रो बिस्ताराले चट् पारिदिए ।

छैंटौँ दिन
हामीले सम्झना होटलमा नै आफ्ना झोलाहरु राखेर हलुंगो भएर फोक्सुन्डो जाने बिचार गर्यौं । होटलको दाइले २ घण्टामा पुगिन्छ भने । हामीले नेपालगंजमा किनेको हर्लिक्स तातोपानिसँग खायौं । १५ मिनेटको दुरीमा त्यहाँको सुविधासम्पन्नपूर्ण स्कुलमा पुग्यौं । होस्टल पनि रहेछ त्यहीं । सुनिता होटलकी दिदीका छोराछोरी यहीं पढ्दा रहेछन् । बाटोमा नाउर हरु देखिन थाले । कस्तुरी हरु पनि यदाकदा देखिन्थे । पहाडको बाटो ठाडो उकालो थियो । माथिहेर्दा पनि टोपिनै खस्ने पहाडहरु । बाटो गाह्रो थियो । म र अभिषेक अरुभन्दा अलि छिटै फोक्सुन्डो झरना जसलाई सुलिगाढ झरना पनि भनिन्छ त्यो हेर्ने भ्यू पोइन्टमा ८ः३० मा पुगियो । अरु अलि पछाडी नै थिए । सुलिगाढ झरनाले बाटोभरी को थकानलाई एक निमेषमा दूर गरिदियो । स्लोमोशनमा झरेजस्तो देखिने झरनालाई हामीले बाहुबली झरना पनि भन्यौं । बाहुबली यतै सुटिङ् गरेको हो भनेर हँसीमजाक र रमाइलो पनि गर्यौं । विश्रामस्लका काठहरुमा सबैले नामलेखेर केरेर कसैले जथाभावी पनि लेखेर फोहोर बनाएका थिए ।
सुलिगाढ झरना हेरेपछिको बाटो त झनै रमाइलो लाग्न थाल्यो । सुस्तै हिँड्छु भनेपनि मन ले मान्दैमान्दैनथ्यो । अझ तालको अलिअलि झलक देखिइरहेथ्यो । पहेंला पातहरुभएका सानासाना पोथ्राहरुले स्वागताद्वार बनाएजस्तै गरी जोडिएर बसेका थिए । भुँइभरी पहेंलापुर पात थिए अगाडी सेतो हिमाल थियो । लाग्थ्यो यो स्वर्ग जाने बाटो हो जहाँ न ढुङ्गा छ न माटो । झरना दर्शनको तीस मिनेटमा हामी रिग्म गाउँ पुग्यौं । यही गाउँको छेउमा छ प्यारो से फोक्सुन्डो । रिग्म मा पिसिओ रहेछ साथीहरुले घरमा फोन गर्नुभयो र आँफुहरु आरामै रहेको अनि फोक्सुन्डो आइपुगेको जानकारी दिनुभयो । त्यहींको होटलमा खाना बनाउन भनेर हामीहरु असंख्य फोटोहरु खिच्न थाल्यौं ।
फोक्सुन्डो को पहिलो झलक नै यति आनन्ददायक थियो कि हरेकले त्यहाँ पुगेपछि एकपटक आँफुलाई बिर्सिन्छ । मैले पनि बिर्सिएँ । कति मनमोहक थियो फोक्सुन्डो मलाई मनदेखि नै फोक्सुन्डो भन भनेर कुनै अंग्रेजीबाज ले भनेजस्तै थियो । से मैले भने हृदयदेखिनै फोक्सुन्डो । सिधै गएर फोक्सुन्डो को पानी डेढ लिटर खाएँ । त्यसपछि फोक्सुन्डो खोला निस्केको ठाउँपट्टि बाट राम्रो एंगलमा फोटो खिचियो । वेलकम टु फोक्सुन्डो लेखेको बोर्डसँगै शिर्षासन गरें ।
पछाडी छुटेका साथीहरु पनि आइपुग्नुभयो । खाना खाएर हामी तालछेउको भिरालो चौरमा पल्टिएर निस्चल रुपमा फोक्सुन्डोलाई नियाल्न थाल्यौं । लाग्यो हामी आदिकालिन ऋषिमुनिहरु हौं जो यहाँबसेर तप गरिरहेछौँ । यो पुण्यभूमि मा पाइला पर्नु नै हाम्रो सबैभन्दा ठूलो पुण्य हो । ताल यस्तो लाग्थ्यो कसैले निलो रंग पोतेर टाँगेको छ पहाडका फेंदफेंदमा । झार भन्ने कुनै नाम थिएन । नेपालको सबैभन्दा गहिरो ताल आफ्नो गहिराइको नीलोपना मा अचल भएर रहेको थियो । अब बल्ल मैले बुझें किन महेन्द्रले रारालाई अप्सरा भनेका रहेछन् । किनकी रारा स्वर्गको टुक्रा रहेछ । तर फोक्सुन्डो आँफैमा एउटा स्वर्ग रहेछ । बाटोका पिडाहरु त रत्तिभर पीडा लागेनन् । मन चंगा भयो ।
१२ः४० मा हामी भ्यू पोइन्टतिर हिंड्यौं । फोक्सुन्डो अझै सुन्दर देखिँदै गयो । चौरीको जंगल नै भेटियो । जंगलका दुइतिरका बाटोहरु रोकेर त्यहाँ चौरी पालिँदो रहेछ । हावा बेजोडले चल्न थाल्यो । हामी छिटैछिटै भ्यू पोइन्टबाट ओर्लियौं । र फोक्सुन्डोलाई हृदय अर्पिएर अन्तिम बिदाई माग्दै फर्कियौँं । सम्झना होटल बाघराल आइपुग्दा रातको ७ बजेको थियो ।

सातौं दिन
भोलिपल्ट होटलबाट ¥्याफिड फायरको हिँडाई हिँडियो । १०ः०४ मा छेप्का आइपुगेर याक होटलमा खाना खायौं । छेप्का बाट ११ः४७ मा हिँडेर १ः४० मा कागेनी अनि ४ बजे सुलिगाढ आइपुगियो । प्लेन बुझ्न म र अभिषेक भाई जुफालतिर लाग्यौं भने अरु साथिहरु त्रिपुराकोटबाट जुम्लानिस्केर रारा जाने प्लानमा त्रिपुराकोट तिर लाग्नुभयो ।
जुफाल एअरपोर्टपनि भएका कारणले होला विकसित देखियो । टन्नै घरहरु देखिए । प्रसस्त विद्यालय र खेतिपाति पनि राम्रो थियो । अस्पताल पनि रहेछ राम्रो । सुविधासम्पन्न लाग्यो जुफाल । सबै सरकारी कार्यालयहरु पनि यतै रहेछन् । मेयरको चलाखीले सबै कार्यालय यतै सारेछन् । स्थानीय कमल शाहीसँग गफ गर्दै जुफाल पुग्यौं । उनले कतार तिर गएर आएको कथा सुनाए र हामीलाई बस्नको लागि होटलपनि सुझाए । तर जुफालपुग्दा हाम्रो योजनमा आगो लाग्यो । कयौं मान्छेहरु हप्तादिनदेखि क्यान्सल फ्लाइटमा बसेका रहेछन् । अनि विदेशीलाई प्लेनमा प्राथमिकता रहेछ । आफ्ना मान्छेलाई मात्रै उडाउँछन् कर्मचारी भनेर कतिले रीस पनि पोखे । हामी पर्वत होटलमा बस्यौं र भोलिबिहानै प्लेन नकुरेर हिँडेर जाने योजना बुन्यौँं ।

आठौँ दिन
हामी ४ बजे नै उठेर हिँड्न तयार भयौं । होटलका दाइसँग बाटो सोधेर हिँडेपनि अँधेरै भएका कारण हामी गलत बाटो हिँडेछौँ । फेरि फर्किएर हामी बल्ल सही बाटो हिँड्यौँ । ६ः५० मा हामी त्रिपुराकोट पुग्यौं । साथीहरु जुम्लाको बाटो लागिसकेहोलान् भन्ने हामीले सोचेका थियौं तर साथीहरु त रारा जाने योजना नै रद्द गरेर बस्नुभएछ । आउँदाखेरि नगएको वालात्रिपुरासुन्दरी मन्दिर गयौं बिहानै । भारतीय राजदूत रञ्जिन रे ले उद्घाटन गरेका रहेछन् । मन्दिर व्यवस्थित थियो । शक्तिपीठहरूमध्ये यसलाई पनि शक्तिशाली पीठ मानिदो रहेछ । वागेश्वरी लगायत अरू सातवटा देवीहरूसँग त्रिपुरासुन्दरीको सम्बन्ध रहेछ । देवी उत्पत्ति र मूर्ति चोरी लगायतका कुराहरू ताम्रपत्रमा लेखेर टाँसिएको थियो । मन्दिरका पुजारीसँग केही भलाकुसारी गरेर टिकाप्रसाद ग्रहण गरी हामी हिँड्याँै । ११ः३० मा खदाङ् आइपुग्यौं । खाना खायौं । त्यहाँबाट १ बजे हिँडेर त्रिवेणी पुग्यौं ३ः४० मा । त्रिवेणीमा न्यू मनिषा होटलमा चिया खायौं । गाडी कुर्दै एकछिन रमाइला गफ गर्यौँ । ६ः१८ मा माथिल्लो बगरमा गाडीले झारिदियो । म र पंगेनीलाई अलि माथिनै चौकि छ भनेर उतारेर गाडी नकुरीकिन गयो । फर्किँदा मुखै छाडेर गाली पनि गर्यौँ । बगर बाट गाडी भरिने मान्छे भएर राडी जाने जिप चढ्यौं तर जिपवालाहरुको झगडाले गर्दा समय निकै गयो । तर पनि जसोतसो मिलाएर ग १ ज ५६२९ नम्बरको जिपमा बेलुका ९ः२९ मा राडी पुग्यौँं । भगवती होटलमा खाना खायौं तर त्यसमा सुत्ने उपयुक्त व्यवस्था नभएकाले सिस्ने यार्सा होटलमा बस्न गयौं । भगवती होटलमा भेज खानामा हड्डी पनि मिसाइदिएछन्, हामी एकदुइजना साकाहारी भएकाले झगडा नै पर्यो ।

नवौँ दिन
बिहानै टिकट काट्यौं । काठमाडौं को गाडीमा बुटवल सम्मको टिकट काटेर लुम्बिनी जाने योजना बनायौँ । बटालियन यातायात प्रा.लि को सिस्ने हिमाल यातायातद्वारा सञ्चालित ९३२६ नम्बरको गाडीको सिट नम्बर ए१देखि ८ सम्म मा बसेर त्यहाँबाट १०ः३० मा हिँडियो । १२ः३० मा चिसापानी आएर गाडी रोक्यो धेरैबेर । हामीले लोकल अम्बा देख्यौं दाम रहेछ ५ रुपैंयाको ४वटा गोटा । स्थानियको व्यापार पनि हुने भएर हामीले एउटा रुख बराबर नै अम्बा खाइदियौं । ११ः४० मा कोहलपुर पुगेर गाडीले खानाखान रोक्यो । पोख्रेली बराल होटलमा होटलवालाको व्यवहारले गर्दा झगडा नै भयो । गाडीमा एउटा अधवैंसे पुरुषले महिलालाई नराम्रो व्यवहार गर्यो हामीले त्यसलाई पनि ठेगान लगायौं । यात्रा झगडामय बन्दै गैरहेको थियो । शान्तिका अग्रदूत बुद्धको भूमिमा पुग्नलाई पो रिस बाहिर निस्किँदै थियो की ?

दशौँ दिन
हामी बुटवलमा उत्रियौँ । अभिषेक काठमाडौं नै गए । उनलाई बिदाइ गरियो र हामी त्यही दिन लुम्बिनी घुमेर एघारौं दिनका दिनमा काठमाडौं आइपुग्यौं ।
फोक्सुन्डो मा धेरै पर्यटक गएको देखिएन । दूर्गम र प्रचार धेरै नभएकोले पनि होला । विदेशी भन्दा स्वदेशी नै हल्काफुल्का गएको देखियो । फोक्सुन्डोलाई माया गरौं । घुम्न जाउँ र आफ्नै देशमा स्वर्गीय आनन्द लुटाैँ ।