अर्को नेपाली ब्राण्ड : हाँसो

अर्को नेपाली ब्राण्ड : हाँसो

पर्यटन क्षेत्रमा नेपाली हाँसो एउटा शक्तिशाली ब्रान्ड नै बनिसकेको छ । तर, हामीले यसको प्रवर्द्धन गर्न सकेका छैनौँ ।
Nepali Woman
तस्बिर : निरज सेढाई

सन् २०१७ मार्चतिर । दिगो पर्यटनबारे अध्ययन गर्न जापानी अनुसन्धानकर्ता र विद्यार्थीको एउटा टोली सोलुखुम्बु आएको थियो । टोलीमा एकजना भरिया खटिए- सोलुखुम्बुकै उमेश राई । खासै पढेका पनि होइनन् । तर, त्यसपछि ती जापानीको सम्पर्कमा जति जापानी आए, सबैले उमेशकै कुरा गरे । उमेश नै चाहिन्छ भन्न थाले ।

हामीलाई पनि आश्चर्य लाग्यो । किन त सबैलाई उमेश नै चाहिन्छ भनेर सोध्यौँ पनि । तर, कारण खास थिएन । “ऊ जतिबेला पनि हाँसिरहन्छ, रमाइलो छ,” जापानीहरू भन्थे । त्यतिबेला मात्र मैले बुझेँ, हाम्रो हाँसो त शक्ति पनि रहेछ ।

मान्छे आफ्ना सारा झन्झटबाट बाहिर निस्केर आनन्द लिन चाहिरहेको हुन्छ । त्यस्तो बेला उसको चाहना सकेसम्म रमाइला, हँसिला मानिससँग भेट होस् र आफूमा सकारात्मक ऊर्जा सञ्चार होस् भन्ने हुँदो रहेछ । विश्वमा नेपालीहरू यस्तै मान्छेमा पर्छन्, यो धेरै विदेशीले धेरैपटक भनेको र लेखेको कुरा पनि हो ।

त्यो नेपाली नै हो जसले भुइँचालोले घर भत्किएर आफ्नै खानेबस्नेको टुंगो नहुँदा विदेशीहरूलाई ‘ल तिमीहरूलाई म भात पकाएर खुवाउँछु’ भन्नसक्छ । हामी अतिथिलाई आफ्ना समस्या देखाउँदैनौँ । ‘अतिथि देवो भवः’ त हाम्रो संस्कार नै हो । त्यसले पनि हुनसक्छ, विदेशीले देख्दा नेपालीहरू सधैँ हँसिला र खुशी देखिन्छन् । र, यसैबाट पर्यटक प्रभावित हुन्छन् । हुनत यसबारे विस्तृत अध्ययन नै आवश्यक होला, तर मलाई लाग्छ, अधिकांश नेपाली ठूलो आकांक्षा राख्दैनन् । चिन्तामा बस्दैनन् । भोलि होइन, आजमा रमाउँछन् । सायद, जो मान्छे आजमा बाँच्छ, ऊ सँधै खुशी हुन्छ ।

Niroj Sedhai
नेपाली बालबालिकाको हाँँसो । तस्बिर : निरज सेढाई ।

विदेशीलाई नेपाल आउन मन पर्ने प्राकृतिक सौन्दर्यका साथै सांस्कृतिक विविधता पनि हो । तर, यति हुँदाहुँदै पनि यदि नेपाली नम्र हुँदैनथे, राम्रो व्यवहार गर्दैनथे भने आउने मान्छे कमै हुन्थे । हाँसेर दिँदा मकैका ठेट्ना र अमिलो मोही पनि मीठो हुन्छ नी!

दिनभर भारी बोकेका नेपाली साँझ हाँसीखुशीका साथ रमाइरहेको देखेर विदेशीहरू छक्क पर्दछन । यस्तो कसरी सम्भव हुन्छ भन्ने उनीहरूलाई लाग्छ । विदेशीहरू काममा मात्र केन्द्रित हुन्छन् । कामका बेला अरूसँग सरोकार राख्दैनन् । त्यसकारण पनि उनीहरू पर्याप्त हाँस्न र खुशी हुन सक्दैनन् कि जस्तो लाग्छ ।

पर्यटन व्यवसायमा त अझ हाँसो, मुस्कान एकदमै महत्त्वपूर्ण छ । हामीले अतिथि सत्कारमा सिकाउने नै यही हो । कम्तीमा पनि हाँस्न सिक, भन्ने कुरा सिकाउँछौँ । रिसै उठ्यो भने पनि हाँसेरै सम्मान दिएर कुरा गर भन्छौँ । हाँस्ने थ बनावटी पनि हुन्छ, तर नेपालीहरू मनैदेखि हाँस्छन् । कुनै तालिम पाएर हाँसेका होइनन् ।

नेपालीहरू हाँस्छन् भन्ने कुरा त धेरैलाई थाहा छ । तर, हाम्रो हाँसोको ‘ब्रान्डिङ’ हुन सकेको छैन । नेपाल पर्यटन बोर्डले हाँसोलाई पनि नेपालको ब्रान्ड बनाउन केही प्रयत्न त गरेको छ, तर योजनाबद्ध काम गर्न सकेको छैन । मलाई लाग्छ, नेपाली हाँसोको यस्तो ब्रान्डिङ्ले पर्यटन व्यवसायमा ठूलो मद्दत गर्छ । नेपालीहरू सकारात्मक, सहनशील छन् भन्ने कुरा पनि विश्वमाझ पुग्छ । (साभार :हिमाल खबर)

धनञ्जय रेग्मी

(धनञ्जय रेग्मी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।)