योग कतिबेला र कस्तो ठाउँमा गर्ने ? योगस्थानको निर्णय

योग कतिबेला र कस्तो ठाउँमा गर्ने ? योगस्थानको निर्णय

तपाईँ हामीलाइ योगका बारेमा सामान्यतः जानकारी छ न किनकि आजकल हरेक टि.भी च्यानलहरुमा विभिन्न बाबाहरुका योगलीला जो आउँछन् । अनि हामी त्यसैलाई अपनाउँछौँ । त्यसबाट लाभ हुँदैन अनि योगबाट मनलाई अलग गर्छौँ । भन्छौँ यो योग गरेर केही हुनेवाला छैन । तर वास्तवमा यस्तो होइन ।

सर्वप्रथम हामी गलत छौँ । किनकि हामीले कहिल्यै योगको बारेमा जान्ने जमर्को गरेनौँ । बरु योगाका पछि भाग्यौँ । हामी योगाका पछि भाग्नाले नै त हो हामीलाई लाभ नभएको । किनकि योगलाइ त हामीले बिसिसक्यौँ। जुन हजारौँ बर्ष पहिला देखि भारत बर्षको शानका रुपमा रहको थियो ।

हामीमध्ये कतिलाई त बिहानबिहान साधारण व्यायाम, कपालभाति, प्राणायाम, सूर्य नमस्कार जस्ता योग पनि गर्छौँ होला । जुन योग भारत बर्ष मा थियो । यहाँका मानिसले योगको महत्व बुझ्न सकेनन्, जसकारण यो योग विदेश तिर भौतारियो र अहिले ‘योगा‘ बनेर हामीसामु आएको छ । हाम्रो मानसिकता, अहङ्कार यस्तो छ कि योग भन्नुभन्दा याोगा भन्दा बढी गर्व महशुस गर्छौँ।

के शरीरका अङ्ग प्रत्यङ्गलाई यताउता नचाउनु मात्रै योग हो त ? के तलमाथि झुक्न उठ्नु, हातखुट्टा तन्काउनु, ढाड भाच्नु, कम्मर मर्काउनु, श्वास जोडजोडले तान्न फयाक्नु, देखावटी नाटक बढी गर्नु के यही योग हो त ?

अहँ, होइन । यस्तो क्रिया हाम्रो शान-साौरत देखाउने माध्यम बनेको छ, अथवा बनाएका छौँ । जो गरीब छन्, मध्यवर्गीय व्यक्ति छन् उनीहरुसँग यतिगर्ने समय पनि छैन । तर जो सम्पन्न छन्, धनी छन, उनीहरू बिहानलगाउने बस्त्रादी ट्रयाक्, जुत्ता लगाए, इयरफोन कानमा कोचार्या, हातमा ट्याबलेट लियो अनि दौडीयो । लचकलचक, हरिया चौरमा पुग्यो, रङ्गशाला पुग्यो, एकछिन पलेँटी मार्यो बस्यो, फ्याँफ्याँ फुँफुँ गर्यो अनि हात हल्लाउँदै फर्कियो ।

के यहि योग हो त ? अहँ, यो योग होइन जो हामी गर्दै आएका छौँ । यसलाई योग होइन शारीरिक व्यायाम भनिन्छ ।

योगको अर्थ के हो ? दुई वस्तुको अथवा दुई धारको या दुईको मिलन नै वास्तवमा योग हो । दुई प्रेमी वा प्रेमीकाको मिलन हुन्छ भने त्यो योग हो । भक्त वा भगवानको भेट हुन्छ भने त्यो योग हो । गुरु र शिष्यका सौहार्दपूर्ण मिलन हुन्छ भने त्यो योग हो । शव बाट शिवबन्ने कला नै योग हो । मुलाधारमा स्थित सर्पजस्तो कुण्डलिनी शक्तिलाई श्वासप्रश्वासका माध्यमले जिस्क्याएर(जगाएर) उठाउँदै सहस्रारमा स्थित शिवसँग मिलन गराउनु नै योग हो जसलाई हामी सहस्रार जागरण भन्दछौँ।

जसरी सर्प नचाउने सपेराले सर्पको टाउकामा छोइदिन्छ तब सर्पले फँणा फैलाउँदै टाउको उचाल्छ । मुलाधारमा स्थित सर्पलाइ कसरी उठाउने ? कसरी छोइदिने त्यसलाई? कुन लट्ठीले त्यसलाई हान्न मिल्छ ? उपाय के छ ? हो त्यही उपाय हो श्वासप्रश्वास (प्राणायाम) ।

हाम्रो श्वासको धक्काले जब त्यसलाइ स्पर्श गर्छ तब त्यो आफ्नो फणा उठाउन थाल्दछ र विभिन्न चक्र जागृत गराउँदै सहस्रारमा स्थित शिवसँग मिलन हुन पुग्दछ । शिव र शक्तिको मिलन हुन्छ । त्यो नै योग हो । जस्तो शिष्य आफ्नो हृदयमा केवल गुरु देख्दछ र गुरुका आँखामा आफ्नो प्रतिबिम्ब देख्छ त्यो नै योग हो ।

मुलाधारमा स्थित कुण्डलिनीलाई जगाउन गरिने अनेक योगासन, प्राणायाम, व्यायाम एवं क्रियालाई मात्रै योग भनिँदैन, शिष्यले गुरु मिलनका लागी, भक्तले भगवान मिलनका लागी गर्ने साधना, जसले मन र प्राणलाई मिलाउँछन् त्यसलाई योग को संज्ञा दिइएको छ ।

योगका पनि ध्यानयोग, कर्मयोग, हठयोग(जुन पछि गएर राजयोगका रुपमा भाषित हुन्छ) जस्ता विभिन्न मार्गहरु या भेदहरु छन् । जुन बिशेष परिस्थितीलाई मध्यनजर गरेर बनाइएका हुन्। चाहे योगका मार्ग जुनसुकै हुन्, तर समग्रमा सबैको लक्ष्य व्यक्तिलाई योगका माध्यमबाट लक्ष्यता, सिद्धि दिलाउनु हो । कैवल्य पदमा आत्मालाई स्थापित गराउनु हो।

अतः योग कस्ता ठाउँमा गर्ने ? कुन समयमा गर्ने ? सर्वप्रथम त स्वच्छ वातावरण नै योगका लागी उचित स्थान हो । किनकि जुन श्वास भित्र जान्छ त्यही श्वासका माध्यमले नै ७२००० नाडीहरु शुद्ध हन्छन् तर यदि भित्रगएको वायु नै दुषित छ भने त्यस वायुले के सफा गर्न सक्ला?

के फोहोर पानीले कपडा साफ हन्छ र ? त्यसकारण सर्वप्रथम स्वच्छ वातावरण हुनुपर्दछ । जहाँ शीतल पवन प्रवाहित होस्, वनजङ्गल आसपासका सम्मा चौर, नदीकिनार, घरको छत, आदी स्थान उपयुक्त हन्छन् ।

अझ सूर्यलाइ प्रकष्ट देखिन सकियो, योगासन गर्दा सूर्यलाइ सम्मुखपार्न सकियो भने उत्तममा पनि उत्तम अत्युत्तम हुन्छ ।

श्वेताश्वेतरोपनिषद् यस सम्बन्धमा भन्छः–

समे शुचौ शर्करा वह्निबालुका
विवर्जिते शब्दजलाश्रयादिभिः ।
मनोऽनुकुले न त चक्षुपीडने
गुहा निवाताश्रयणे प्रयोजयेत् ।। (श्वेताश्वेतरोपनिषद अ.२, मन्त्र न १०)

जहाँ समतल छ, पवित्र स्थान छ, अग्नि एवं बालुवा रहित तथा शब्द, जल एवं आश्रयादिले शुन्य छ, मनको अनुकुल छ, जहाँ नेत्रलाई पीडादिने वस्तु वा व्यक्ति छैनन् त्यस्ता स्थानमा योगाभ्यास गर्नु पर्दछ ।

मनलाई त्यस्ता गुफामा लगाउनु पर्दछ । त्यस्तो ठाउँमा ध्यान गर्नुपर्दछ । अर्थात् जहाँ उबडखाबड, उचाइ नीचाइ, छैन त्यस्तो स्थान, जुन पवित्र होस्, शर्करा अग्नि एवं बालुवा रहित भन्नाले छोटाछोटा चुच्चा परेका ढुङ्गालाइ यहाँ शर्करा भनिन्छ एवं त्यसको धुलोलाई बालुवा भनिन्छ ।

अतः माथि जुन स्थानहरु निर्देश गरिएका छन ती स्थान मिल्दैनन् भने आफ्नै कोठामा पनि गर्न सकिन्छ । झ्याल, पर्दा खुला राखेर वायुको आवागमन हुनसक्ने बनाएर हल्का कपडा लगाएर योगासनहरु गर्नुपर्दछ ।

योग गर्न, ध्यान गर्न अथवा जुनसुकै कार्यकालागी पनि ब्रह्ममुहूर्त उत्तम मानिन्छ । सूर्यादयभन्दा १५–३० मिनेट पहिले वातावरणमा एकप्रकारको जीवनीशक्ति, ऊर्जाशक्ति, जो हामीलाई दिनभर शक्ति प्रदान गर्न सक्छ त्यस्तो शक्ति व्याप्त भैरहेको हुन्छ । जसलाई हामीले योगासनद्वारा थुनिएर रहेका बन्द ढोकाहरु खोल्छौँ र श्वास प्रश्वासका माध्यमबाट त्यस जीवनीशक्तिलाई शरीरका रोमरोममा बसाल्दछौँ, भर्दछौँ, की जसले हामीलाई दिनभरी ताजगी प्रदान गरोस् ।

त्यसैले बिहान ब्रह्ममुहूर्त एवं ठीक सूर्योदयका समय र बेलुका ठीक सूर्यास्तको समय, जब सूर्य क्षितीजलाइ छोएर दिनका अन्तिम पल्ट विश्वलाई नियाल्छ त्यस समयमा ।

जब सूर्यको प्रभा अग्निमा प्रवेश गर्न चाहान्छ त्यस सध्याकालमा योग गर्नु उत्तम मानिन्छ । स्मरण रहोस् की सामान्य व्यायामहरु त पढेर देखेर पनि गर्न सकिन्छ तर योगासन प्राणायाम आदि कुराहरु पढेर भन्दापनि योग्य योगशिक्षक सँग परामर्श लिएर, सिकेर मात्र गर्नुपर्दछ । योग को माध्यमबाट रोग, जरा एवं अकालमृत्यु माथि विजय प्राप्त गर्न सकिन्छ । त्यसलै योग गरौँ निरोग रहौँ । स्वस्थ रहौँ ।