नारी जीवन र योगाभ्यास

नारी जीवन र योगाभ्यास

हामीले यो सामाग्री श्री ब्रह्मवित् परमहंस योगी सच्चिदानन्द सरस्वती (खप्तड बाबा)द्वारा लिखित “धर्म विज्ञान”बाट साभार गरेका हौँ । 

स्त्रीहरु विशेषगरेर कन्याहरुका लागि व्यायाम आवश्यक छ । यस कुरामा आजसम्म हाम्रो समाजले राम्ररी विचार गरेको छैन । जब कन्याहरुलाई पनि पढाउनुपर्छ भन्ने विचार नै पूर्णरुपले आएको छैन भने व्यायामको विचार कसरी आओस् ? स्त्रीहरुको व्यायामलाई असभ्य एवं अश्लील मान्ने मानिसहरुको हाम्रो समाजमा कमी छैन तर यसको विपरीत, पाश्चात्य देशहरुमा नारीवर्गको व्यायामको निकै प्रचार छ ।

व्यायामलाई बलवर्धक एवं पहलमानीको कुरा मान्ने मानिसहरु शायद यही नै सोच्दछन् कि पहलमान बन्नुछ र तिनलाई व्यायाम सिकाइयोस् ? तर आजभोलि विद्यालयहरुमा कन्याहरुलाई पनि व्यायाम गराइन्छ ।

यस प्रसङ्गमा वास्तवमा यदि विचार गर्ने हो भने यही तथ्य प्रतीत हुन्छ – पुरुषहरुको तुलनामा महिलाहरुलाई नै व्यायाम ज्यादा जरुरी छ किनकि जीवन सङ्घर्षमा पुरुषहरुको तुलनामा नारी शरीरले ज्यादा सङ्घर्षको सामना गर्नुपर्दछ ।

गर्भधारण गर्नु, बच्चा जन्माउनु एवं उसलाई दुध खुवाउनु, यी यस्ता कार्यहरु हुन् जसका लागि कुनै पनि नारीको स्वास्थ्य स्तर धेरै राम्रो नभएमा उनले यी सङ्घर्ष सहन सक्दिनन् र आफ्नो स्वास्थ्य युवावस्थामा नै गुमाउनुपर्ने हुन्छ ।

Photo credit – One Flow Yoga

उनले बाँकी जीवनमा पनि पीडाको शिकार हुँदै औषधिहरुको सेवन गर्दै बिताउनुपर्ने हुन्छ । यस्ता नष्टभ्रष्ट स्वास्थ्य भएका नारीहरुको सङ्ख्या आज हाम्रो समाजमा निकै धेरै छ, विशेषगरेर कृत्रिम जीवन बिताउने शहरी जनतामा । हीन स्वास्थ्य भएका नारीका सन्तान पनि हीन स्वास्थ्य भएका नै हुन्छन् ।

आश्चर्यको कुरा त यो छ कि नारीवर्ग स्वयं नै व्यायामको विषयमा अत्यन्त भ्रमपूर्ण धारणामा भएका देखिन्छन् । सुशिक्षित महिलाहरु पनि सोच्दछन् – बिहानदेखि साँझसम्म हामी घर–गृहस्थीको काममा पर्याप्त शारीरिक मेहनत गर्दछौँ, त्यसपछि पनि हाम्रा लागि व्यायामको के आवश्यकता छ र ? यस प्रकारको धारणा राख्ने महिलावर्ग एवं पुरुषवर्ग सबैले यो कुरा राम्ररी बुझ्नु आवश्यक छ ।

घरेलु परिश्रमको गणना व्यायाममा गरिँदैन, किनभने कुनै पनि घरेलु कार्य शरीरको कुनै अङ्ग वा संस्थानलाई बलियो बनाउने अथवा त्यसको विकास गर्ने दृष्टिले बनाइएको छैन । यी सम्पूर्ण घरेलु कामधन्दाहरु वास्तवमा शरीरलाई थकाउने खालका मात्र हुन्छन् । व्यायामले शरीरलाई यो परिश्रम गर्न सहनशक्ति प्रदान गर्दछ ।

अर्को कुरा यो पनि छ – नारी वर्गको सबैभन्दा महत्वपूर्ण सम्पत्ति उनको सौन्दर्य पनि हुन्छ र उत्तम स्वास्थ्यबिना सौन्दर्य अड्न सक्दैन । अर्को शब्दमा यो पनि भन्न सकिन्छ – उत्तम स्वास्थ्य नै सौन्दर्यको रुपमा प्रतिबिम्बित हुन्छ ।

हामीले देखेका छौँ – नारी, जो विवाहको समयमा सुन्दर आकर्षक तथा हृष्टपुष्ट थिइन्, विवाहको चारवर्ष पछाडी जब दुइ तीन सन्तानकी आमा बन्दछिन् तब केवल चार वर्षको अल्पसमयमा नै उनको यौवन, आकर्षण तथा सौन्दर्य कुन्नि कता पुग्दछ र उनी अधबैंसे देखिन थाल्दछिन् । यसको मुख्य कारण हो स्वास्थ्यको खोक्रोपन ।

संक्षेपमा भनाइको तात्पर्य यो हो कि महिला वर्गको स्वास्थ्यका लागि योगासनहरुको व्यायाम नै सर्वोत्तम एवं उपयुक्त छ किनभने स् त्री शरीरलाई मांसपेशीहरुको लचिलोपनको विशेष आवश्यकता पर्दछ । मांसपेशीहरु जति ज्यादा लचिला हुन्छन्, महिलाहरुको शिशुप्रसव त्यति नै कम कष्टदायक एवं सरल हुन्छ ।

अनेकौँ योग व्यायामका शिक्षकहरु त्था योगसंस्थाहरुले सिद्ध गरेका छन् कि योगासनहरुको व्यायाम गर्ने स्त्रीहरु ज्यादै कम प्रसवकष्टको अनुभव गर्दछन् । यसको विपरीत अङ्गहरुलाई पहवानहरुको जस्तो कडा बनाउने व्यायामहरु स्त्री शरीरका लागि हानिकारक छन् । केवल योगासन नै तिनका लागि उपयुक्त हुन्छ ।

मासिक धर्मसम्बन्धी विकार, जननेन्द्रियसम्बन्धी रोग, प्रदर रोग तथा एनेमिया अर्थात् शरीरमा रगत कमी हुने समस्या आजकाल बढ्दै गएको पाइन्छ । अधिकांश नारीहरु यीमध्ये कुनै न कुनै समस्याको सिकार भएका पाइन्छन् ।

यी सबै रोगहरु नारी स्वास्थ्य एवं सौन्दर्यको लागि ज्यादै हानिकारक छन् । कैयाँैपटक महिलाहरु नसुहाउने तालले मोटा हुन्छन्, पेटमा बोसो ज्यादै जम्मा हुन्छ तर शरीरमा शक्ति भने हुँदैन । अलिकति कामले पनि थाकेर स्वाँ–स्वाँ गर्न थाल्दछन् । यसैप्रकार हिस्टिरिया रोग पनि हिजोआज निकै व्यापक छ, जुन रोग मस्तिष्कको कमजोरीले गर्दा हुने गर्दछ । यी रोगहरुका लागि योगासन व्यायाम विशेष लाभप्रद सिद्ध भएको छ ।

कुनै पनि आसनले महिलाको शरीरलाई हानि पुर्याउन सक्दछ – यसप्रकारको शङ्का गर्नु व्यर्थ छ । यसको विपरीत महिलाहरुको शरीर–निर्माण तथा शरीरक्रियाविज्ञानको दृष्टिले अन्य व्यायामहरुको तुलनामा योगासनहरुको व्यायाम नै सर्वथा उपयुक्त छ ।

पश्चिमोत्तानासन, हस्तपादासन, भुजङ्गासन, हलासन, धनुरासन विशेषरुपले गर्भाशयसम्बन्धी रोगहरु तथा डिम्ब प्रणालीका दोषहरु हटाउन सहायक हुन्छन् । गर्भाशयको स्थानच्युति(आङ् खस्ने), जुन ठिक पार्न अपरेशन समेतको आवश्यकता पर्दछ, योगासनहरुको अभ्यासद्वारा यस्तो समस्याबाट बच्न सकिन्छ । पेटमाथि प्रभाव पार्ने खालका सबै आसनहरु एनेमिया निको पार्नमा निकै सहायक हुन्छन् । शीर्षासन, सर्वाङ्गासन एवं शवासनद्वारा हिस्टेरियामा लाभ हुन्छ ।

आसन व्यायामको अभ्यास सुरु गर्ने महिलाहरुले सुरुआतमा सरल एवं सजिलो आसन छान्नुपर्दछ र क्रमशः ती भन्दा कठिन आसनतर्फ लाग्नुपर्दछ अथवा उनीहरु पहिले सूर्य नमस्कारबाट आरम्भ गरुन् र त्यसको राम्रो अभ्यास भएपछि अन्य आसनको अभ्यास गरुन् ।

सावधानी ः

उनीहरुले निम्नलिखित सावधानीहरु ध्यानमा राख्नुपर्दछ –

१. मासिक धर्मका दिनहरुमा आसन गर्नु हुँदैन, यी दिनहरुमा ज्यादाभन्दा ज्यादा विश्राम गर्नुपर्दछ ।

२. शिशुप्रसव भएको दुई महिनापछि जब शरीरमा स्वाभाविक शक्ति फर्कन्छ, तब मात्र आसन गर्नु पर्दछ ।

३. योगासन गर्ने स्त्रीहरुले गर्भ रहेको तेस्रो महिनापछि हस्तापादासन, पश्चिमोत्तानासन, भुजङ्गासन, हलासन तथा शलभासन गर्नुहुँदैन र छैटौँ महिनापछि अरु सबै आसनहरु पनि बन्द गर्नुपर्दछ ।

४. अर्ध–मत्येन्द्रासन महिलाहरुले गर्नुहुँदैन ।

५. जुन महिलाहरुको पटकपटक गर्भपात हुन्छ तिनले शीर्षासन, सर्वाङ्गासन, मत्स्येन्द्रासन गर्भ रहेको छैठाँै महिनासम्म विशेष रुपले गरुन् ।

योगासनले मुख्यरुपले स्नायुमण्डललाई स्वस्थ एवं शक्तिशाली बनाउँछ, नसाहरुमा लचिलोपन उत्पन्न गर्दछ । जसले गर्दा तिनको क्रियाशीलता अक्षुण्ण रहिरहन्छ । यसै प्रकारले पिट्युटरी, थायरायड, प्रोस्टेड, अण्डकोष आदि ग्रन्थिहरुमाथि पनि योगासनले पूरा प्रभाव पार्दछ, तिनलाई शुद्ध रगतको भरपुर पोषण मिल्दछ ।

महिलाहरुका डिम्ब, ग्रन्थिहरु, जो मुख्यरुपले काम ग्रन्थि हुन्, विभिन्न आसनहरुद्वारा मिचिन्छन् र आफ्ना कार्य सुचारु रुपले गर्नेछन् । यौनसम्बन्धी अधिकांश विकारहरु कामाङ्गहरु बढी क्षुब्ध हुनाले उत्पन्न हुन्छन् । स्वप्नदोष, शीघ्रपतन, प्रमेह आदि यस्तै विकार हुन् तर योगासनहरुद्वारा जब यी अङ्गहरुमा ताजा एवं शुद्ध रगत पुग्दछ तब यिनको अनावश्यक क्षोभ हट्दछ ।

दोस्रो कुरा मेरुदण्डबाट निस्कने केही नसाहरु, जो कामक्रियालाई नियन्त्रित गर्दछन्, स्त्री–पुरुष दुवैमा नै यिनीहरुको कमजोरीले गर्दा कैयौँ यौन विकार उत्पन्न हुन्छन् । योग व्यायामका प्रत्येक आसन कुनै न कुनै रुपमा मेरुदण्ड र त्यसबाट निस्कने नसाहरुलाई प्रभावित पार्दछन्, त्यसैकारण यिनीहरुसँग सम्बद्ध विकार पनि दूर हुन्छन् ।

मनको भ्रम, रुचि–अरुचि, बाधाहरुले धेरैजसो जटिल काम विकार उत्पन्न गर्दछन् । यी मानसिक विकारहरु मस्तिष्कको कमजोरीबाट उत्पन्न हुन्छन् । शीर्षासन तथा सर्वाङ्गासन यी दुइ यस्ता अपूर्व आसन हुन् जसले मस्तिष्कलाई बल प्रदान गर्दछन्, मस्तिष्कमा ताजा रगत पुर्याएर त्यसलाई हलुका एवं शुद्ध बनाइराख्छन् ।

फलस्वरुप कामसम्बन्धी जटिल बाधाहरुलाई हटाउन पनि यी व्यायामहरु ज्यादै सहायक हुन्छन् । यो कुरा सत्य हो कि औषधिहरु रोग–निवारणमा धेरै सहायक हुन्छन् तर अर्कोतर्फ यो पनि सत्य हो कि जतिजति औषधिको सङ्ख्या बढ्दै गइरहेका छन्, त्यति–त्यति नै रोगहरु पनि ज्यादा बढ्दै गइरहेका छन् । अर्को कुरा यो छ अनेकौँ जीर्ण रोगहरु निको पार्न औषधीहरु असफल हुन्छन् ।

समयमै अर्थात् स्वस्थ शरीर हुँदैमा स्वयं तथा आफ्ना सन्तानहरुलाई पनि आसन–व्यायामको अभ्यास गराउनुहोस् । एकपटक आफ्नो परिवारमा यस परम्पराको शुभारम्भ गरेपछि तपाई देख्नुहुनेछ – परिवारका सबै सदस्यहरु आसनाभ्यासी हुनेछन् र केटाकेटीहरु त देखासिकीबाट नै व्यायाम गर्न थाल्नेछन् ।

जसरी तपाईं प्रातःकालमा शौचस्नान आदि नित्यकर्म गर्नुहुन्छ, यसरी नै केही समय आसनहरुका लागि पनि निकाल्नुहोस् । स्वास्थ्य सुधारका लागि कार्य व्यस्ततालाई बहाना नबनाउनुहोस् ।

आसन व्यायामका लागि कम्तिमा पन्ध्र मिनेट र बढीमा तीस मिनेटको समय पर्याप्त हुन्छ । प्रातः कालमा शौच आदिबाट निवृत्त भएर खाली पेटमै आसन गर्नुपर्दछ ।

साँझको समय सबैका लागि प्रायः अनुकूल पर्दैन किनभने दिनभरिको कामधन्दाले थाकेको व्यक्ति साँझपख आराम अथवा मनोरञ्जन चाहन्छ । साँझपखको एक–दुइ माइलको भ्रमण पनि राम्रै हुन्छ ।

स्नान आसनहरुभन्दा अगाडि नै गर्नुपर्दछ अथवा आसन गरेको एक आधा घण्टापछि स्नान गर्नुपर्छ । आसन गरेको एक घण्टापछि दुध अथवा अन्य कुनै हलुका आहार लिन सकिन्छ ।

प्रातः जति सक्यो चाँडै आसनहरुबाट निवृत्त हुनुपर्दछ ताकि आफ्नो दैनिक कार्यका लागि पर्याप्त समय मिल्न सकोस् । सम्भव भएसम्म आसन एकान्त स्थानमा गरौँ ।

गर्मीको मौसममा खुला स्थानमा पनि आसन गर्न सकिन्छ, जाडोको मौसममा चाहिँ जुन कोठामा आसन गरिन्छ त्यस कोठाको वायु शुद्ध हुनुपर्दछ । आसन गर्ने बेलामा शरीरमा सकेसम्म थोरै एवं खुकुलो वस्त्र हुनुपर्दछ ।

आसन सदा समतल भूमिमा गर्नुपर्दछ । भुँईंमा गुन्द्री अथवा दरी ओछ्याउनुपर्दछ र जतिजति आसनको समय बढाइन्छ त्यतित्यति गन्तीको संख्या बढाउँदै जानुपर्छ । ज्वरो आएको अथवा अन्य कुनै तीव्र रोगको अवस्थामा आसन गर्नुहुँदैन ।