(यो लेख स्वामी प्रपन्नाचार्यको “६४ शिवलिंगको विश्लेषणात्मक अनुसन्धान” बाट प्रभावित छ)

शिवलिङ्गका बारेमा जान्नका लागि हामीले सबैभन्दा पहिला ढुङ्गाको इतिहासलाई जान्नुपर्दछ । शिवलिङ्ग ढुङ्गामात्रै पनि होइन । यो त एउटा अब्स्ट्र्याक चिह्न हो शैव साधनाको, वैदिक इतिहासको जसले अनन्त, निर्गुण, निराकार, अक्षय परब्रह्म शिवलाई जनाउँछ । शिवलिङ्गलाई “स्वयम्भू” र ”कृत्रिम” गरी दुइभागमा बाँड्न सकिन्छ । कृत्रिम शिवलिङ्ग भनेको मानिस या कालिगढले काँटछाँट गरेर बनाएको शिवलिङ्ग हो भने स्वयम्भू शिवलिङ्ग भनेको प्राकृतिक रुपमै शिवलिङ्गका आकारमा रहेको शिवलिङ्ग हो ।
लिङ्गतत्वविमर्शले पनि दुइप्रकारका शिवलिङ्ग बताएको छ ः–
लिङ्गतत्वविमर्शणे तत्त्वं प्राकृतं कृतञ्चाहु महर्षयः । – लिङ्गतत्त्वविमर्श ३।२
स्वयम्भू शिवलिङ्गको उदाहरणका रुपमा फर्पिङ्गको गोपालेश्वर, सिन्धुपाल्चोकको स्फटीकेश्वर, नुवाकोटको ब्रह्मेश्वर, कार्तिकेश्वर, भैरवेश्वर आदिलाई लिन सकिन्छ । यी शिवलिङ्गहरुको इतिहास लाखौँ बर्षको छ । त्यस्तै मानवनिर्मित शिवलिङ्ग पनि हजारौँ बर्षदेखि उस्तै स्वरुपमा छन् , केहीलाइ छाडेर ।
लाखौँ बर्षको इतिहास यीनिहरुसँग कसरी छ भन्ने प्रश्नको उत्तर ढुङ्गा कसरी बन्छ भन्ने प्रश्नको उत्तरले दिन्छ । ढुङ्गा कसरी बन्छ भन्ने प्रश्नको उत्तर खोज्न ठुलाठुला नदीनदहरुका घाटी, पर्वत, विशेष गरेर डेल्टाहरुमा अनुसन्धान गर्दा पृथिवीको पपडा अलिअलि फैलँदै समुद्रको गर्भमा आउने डेल्टा पाएपछि त्यसैले ढुङ्गा बन्ने अनुसन्धानले बताउँछ । त्यसपछि त्यही पृथ्वीको पपडा नै पानेदार आदि चट्टान बन्दछन् । आजपनि डेल्टा बनाउने नदीहरुको मुहानमा यी घटनाहरु देख्न पाइन्छ । पुरातात्विक वैज्ञानिकहरुले अनुसन्धान गरेअनुसार एकफिट पानेदार चट्टान बन्नमा ८८० बर्षदेखि २ हजार बर्षसम्म लाग्न सक्ने बताएका छन् ।
डेल्टाहरुमा वर्तमान समयमा उपलब्ध पानेदार चट्टान ढुङ्गाको आयु १ अर्ब ५ करोड बर्षका मानेका छन् । यी चट्टानहरु अत्यन्त ठूला पहाड, पर्वत, हिमालयहरुदेखि साना साना नदी नद, हजारौँ, लाखौँवर्ष पूर्व छेडोस्थल पहाड आदिमा पनि पाइन्छन् ।
यी पानेदार चट्टान समूहका अनेक थरिका ढुङ्गाहरु विभिन्न ठाउँमा विभिन्न प्रकारका बनावटले बनेका पाइन्छन् ।
टेथिस कालमा नेपालमा पनि समुद्र भएको मान्यतालाई मान्दापनि यी स्वयम्भू शिवलिंगहरु त्यतिबेला नै बनेका देखिन्छन् । अन्य सामुद्रिक चट्टानहरु प्नि नेपालमा पाइन्छन् भने विभिन्न सामुद्रिक अवशेषहरु प्नि नेपालमा प्रशस्तै पाइएका छन् ।
नेपालमा प्राप्त भएका ढुङ्गाहरुमध्ये भिरिङ्गे मटमै, चेमे, दलसिं, कुरिन, लोसले, फोस्के, राप्के, बलौटे आदि छन् । बलौटे ढुङ्गामा खसुरे, सरौले, मिहिने आदि ढुङ्गाहरु पाइन्छन् । यी बाहेक नेपालमा समुद्री आग्नेय चट्टानहरुपनि पाइएका छन् ।
सेतो दलसिं, रातो दलसिं, अलिअलि पहेँलो दलसिं, कालो छाँयाको दलसिं ढुङ्गा नेपालमा प्राप्त छन् । तर यी ठुलाखाले भेटिएका छैनन् ।
आग्नेय चट्टान भने सबै रङ्गका पाइन्छन् ।
लोलीले १८ किसिमका ढुङ्गाको वर्णन गरेका छन् । डिस्कभरी अफ शिवलिङ्ग स्टोनमा जे एच डङ्कनले कयौँ किसिमका ढुङ्गाहरु मध्येमा समुद्री आग्नेय चट्टानलाई छाडेर १८ प्रकारका ढुङ्गाको विश्लेषण गरेका छन् जुन ढुङ्गाहरुको प्रयोग शिवलिङ्गमा गरिन्छ भन्ने उनको धारणा छ ।
हाम्रा शास्त्रहरुले मूर्ति बनाउँदा टूटफूट नभएको, अंगभंग भएको नबनाउनु भनेका छन् । त्यस्तो टुटफूट भएको मूर्ति पूजा नगर्नु भनिन्छ । त्यसैलेपनि धेरैटिक्ने धातुहरु खोज्दा यस्ता मूर्तिहरु बन्न गएका छन् ।
मूर्ति एवं शिवलिङ्ग समुद्री आग्नेय चट्टानले बनेका छन् भने हजाराँै लाखाँै बर्षसम्म पनि रहन्छन् । यस्ता शिवलिङ्गहरु इरान, इराक र दजलाननदीको घाटी, नीलनदीको घाटीहरुमा पनि पाइएका छन् ।
यस्ता मूर्तिहरु, शिवलिङ्गहरु अर्चना गर्दा अर्पण गरिने पानी, दूध, घ्यू, दही, मह आदिले केही पनि असर गर्दैनन् । आजसम्म पनि यिनीहरुमा अन्तर आएको छैन, त्यसैले पनि यस्ता मूर्तिहरु बनाइन्छ ।
दोस्रो नम्बरको शिवलिङ्ग सिल्पट पदार्थबाट बनेको हुन्छ । यसको उमेर पनि हजारौँ बर्षको हुन्छ ।
फोस्के अर्धफोस्के ढुङ्गाहरुबाट बनेका शिवलिङ्ग हजार बर्षमै विकृतिमा आउँछन् ।
मल्लकालतिर भने प्रस्तरका मूर्तिहरु बनाइएका पाइन्छन् ।
स्कन्दपुराण केदारखण्डको ३१ अध्यायमा शिवलिङ्ग बनाउने रत्न धातुहरुको उल्लेख पाइन्छ ।
नीलं मुक्ता प्रवालञ्च वैदूर्यचान्द्रमेव च
गोमेदं पद्मरागञ्च मारतं काञ्चनं तथा
राजतं ताम्रमारञ्च तथा नागमयं परम्
रत्नधातुमयान्येव लिङ्गानि कथितानि ते ।
स्क.पु.के.ख. ३१, ९८–९९
१. नीलमणि, २. मुक्तमणि, ३. प्रवालमणि, ४. वैदूर्यमणि, ५. चन्द्रकान्तमणि, ६. गोमेद, ७. मारतमणि, ८. पद्मरागमणि ९. स्वर्णलिङ्ग, १०. रजतलिङ्ग, ११. ताम्रलिङ्ग, १२. नागमणि, १३. अन्यरत्न, १४. धातुमय ।
केही आचार्य एवं साधकले माटोको शिवलिङ्ग बनाएर पनि पूजा गर्दछन् ।
यो त भयो ढुङ्गाको कुरा अब रङ्गको कुरा गराँै ।
अन्य रङ्गभन्दा कालो रङ्गको लुगामा आगो छिटो लाग्छ । आगोले कालो रङ्गलाई छिटो जलाउँछ । त्यस्तै कालो रङ्गमा कुनै रङ्ग चढ्दैन ।
योगसाधना या हठयोगपद्धतिमा त्राटकको अभ्यास शक्तिशाली मानिन्छ । सेतो रङ्गले किरणहरुलाई परावर्तन गर्छ तर कालोरङ्गले त्यसलाई आँफुमा भण्डारण गर्छ । त्राटकका लागि लक्ष्य केन्द्रित गर्दा मूर्तिहरुलाई पनि लक्ष्यकारुपमा प्रयोगमा ल्याइन्छ र धेरैबेर सम्म नजर टिकाउँदा कालो रंगले आँखालाई सहजता पनि दिलाउँछ ।
रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, तैलङ्ग स्वामी, कीनाराम बाबा अघोरी आदि ठूलाठूला उपासकहरुले कालो रङ्गको मूर्तिको उपासना गरेका थिए र छिटो सिद्धि प्राप्त गरेका थिए ।
सिद्धवारुणतन्त्रमा मार्कण्डेय ऋषिले कालविजयी शिवलिङ्गको उपासना गरेका छन् जसको रङ्गपनि कालो थियो । त्यसैले रंगहरुमा देवप्रतिमा, सिद्धपीठ, मठमन्दिर, तीर्थस्थल आदिमा बनेका प्रतिमा, अर्चावतार, मूर्ति, शिवलिङ्ग देवीप्रतिमा आदि सर्वत्र सर्वकालदेखि कालो ढुङ्गाको मूर्ति बनाउने चलन परम्परा संस्कृति रहेको हो ।
किनभने कालो प्रतिमामा उपासना गर्दा चाँडै सिद्धि प्राप्त हुन्छ । जसको उदाहरण माथि दिइसकियो ।
छिटो सिद्धि प्राप्त गर्नका लागि कालो पत्थरमा बनेको मूर्ति वा फोटो प्रयोग गरिन्छ तथा कालै मालाले जप गर्ने गरिन्छ ।
तन्त्ररत्नाकरमा पनि सर्वार्थसिद्धिका लागि कृष्णलिङ्गको पूजा गर्नु भनिएको छ ः–
सर्वसिद्धिसिध्यर्थं कृष्णलिङ्गं प्रपूजयत् ।
– तन्त्ररत्नाकर पू.वि.पृ ५।१८
अस्तु ।
सन्दर्भ स्रोतः
१. चौसट्ठी शिवलिङ्गको विश्लेषणात्मक अनुसन्धान – डा. योगी प्रपन्नाचार्य
२. तन्त्ररत्नाकर
३. सिद्धवारुणतन्त्र
४. योगिनीतन्त्र
५. हिमवत्खण्ड – विद्यार्थी पुस्तक भण्डार, प्रा.डा.वेणीमाधव ढकाल ।
६. लिङ्गमहापुराणम्
७. लिङ्गतत्वविमर्श
८. शिवतत्वनिर्णय
एवं नेपालसंस्कृत विश्वविद्यालय का विभिन्न प्राध्यापक गुरुहरु, मृगस्थली गोरखनाथ पीठका नाथ तथा थापाथली गोरक्षपीठका नाथयोगीहरुसँगको छलफल, विमर्शपछि यो लेख लेखिएको हो ।