कास्कीका १४ जनाले दोहोरो मतदान गरेका छन्। आईतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा कास्की, पोखरा महानगरपालिका वडा नम्बर–१३ का १४ जनाले दुईपटक मतदान गरेका हुन। उनीहरुले ढाँटेर, छलेर वा अर्कैको नाममा मतदान भने गरेका होईनन् । बरु निर्वाचनमा खटिएका कर्मचारीको लापर्वाहीका कारण उनीहरुले आफ्नै नाममा दुई पटक मतदान गर्न पाएका हुन।

कास्की निर्वाचन क्षेत्र नम्बर १(२)मा पर्ने पोखरा–१३ स्थित मौला ईश्लामिक सामुदायिक (मदरसा) आधारभुत विद्यालयमा रहेको मतदान स्थलको केन्द्र (ख) मा पुगेका मतदातालाई त्यहाँ खटिएका कर्मचारीले प्रतिनिधि सभा समानुपातिकतर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभा समानुपातिकतर्फको मतपत्र दिएपछि विवाद शुरु भएको थियो।
सो केन्द्रमा शुरुमा प्रतिनिधि सभा समानुपातिकतर्फको १० वटा मतपत्र मात्र दिईएको थियो। उक्त मतपत्र सकिएपछि थप १ सय वटा मतपत्र दिइएको थियो। शुरुमा दिइएको मतपत्र प्रतिनिधि सभा समानुपातिकतर्फकै मतपत्र दिइएपनि पछि थपिएको १ सय वटा मतपत्र प्रदेश सभा समानुपातिकतर्फको मतपत्र दिइयो। जसका कारण त्यहाँ बस्ने कर्मचारीले मतदातालाई प्रतिनिधि सभा समानुपातिकतर्फको मत पत्र भन्दै प्रदेश सभा समानुपातिकतर्फको मतपत्र दिए।