अमीर खुसराे अर्थात् महान संगीतज्ञ

अमीर खुसराे अर्थात् महान संगीतज्ञ


वाद्य वा गेय दुवै क्षेत्रमा भारतीय संगीतलाई उचाईमा लैजाने अमीर खुसरो एक महान संगीतकार पनि थिए । उनलाई राम्रो गायक र संगीतशास्त्री भन्दा कुनै अतिशयोक्ति हुँदैन ।

अरबी फारसीका सुक्तिलाई भारतीय धूनमा उन्ने खुसरोलाई उनका गुरु पीर निजामुद्दिन औलियाले मफता हुस्सामा को उपाधि दिएका थिए ।

खुसरोलाई तराना र कव्वालीका आविष्कारक मानिन्छ । उनी ईरानी संगीतपनि राम्रोसँग जान्दथे । ईरानी र भारतीय संगीतको समन्वयबाट अनेक सुमधुर रागरागिनी उनले तयार गरेका थिए ।

मुस्लिम राजाका समयमा खुसरोले दुवै प्रकारको वातावरण देखे । कहीले संगीतलाई पूरा आश्रय मिल्थ्यो भने कहिले घोर विरोध हुन्थ्यो । किन्तु बिस्तारै बिस्तारै दिल्ली दरबार देशविदेशका प्रसिद्ध संगीतज्ञ वा गायक गायिकाको अखाडा बन्न थाल्यो । खुसरो पनि जब समय पाउँथे तब आफ्नो संगीत कलाको भरपूर प्रदर्शन गर्दथे ।

आज पनि कव्वालहरू खुसरोलाई नै आफ्नो पहिलो उस्ताद(गुरु) मान्दछन् ।

खुसरोको एक विशेषता यो पनि थियो कि उनी कुनै ध्वनीलाई सुन्नेबित्तिकै त्यसलाई तुरुन्त रागरागिनीमा ढाल्न सक्दथे ।
 यस बिषयमा एउटा प्रसंग सुनिन्छ । खुसरोले रुई छाँट्ने वाला ताँतबाट निस्कने ध्वनीलाई यसरी प्रस्तुत गरे, मानौँ कुनै राग अलापिएको होस्,
दर पये जाना जां, हम रफ्त, जां हम रफ्त, जां हम रफ्त, रफ्त रफ्त जां हम रफ्त…………।

रागदर्पण नामक पुस्तकमा खुसरोद्वारा रचित निम्नलिखित रागहरुको उल्लेख पाइन्छ ःराग मुजीर
जील्फ
ऐमन
फरगाना
गनम
बास्तर्ज
उश्शाक
सर पर्दाह
मुवाफिक
मुनअम
फरो दस्त । आदि


हिन्दुस्तानी संगीतलाई जन्म दिने खुसरोलाई दरबारले पश्रय दिएको थियो, साथै सुफी फकीरहरुले पनि उनलाई आशीर्वाद दिएका थिए । उनको विषयमा अकबरका दरबारी गायक तानसेन लेख्दछन् :
तानसेन के तुम भू नायक खुसरोकरत स्तुति गुण गायो रे

यदि खुसरोको संगीत प्रेमको चर्चा चल्दछ भने अवश्य पनि वसन्तको गीत भूल्न सकिँदैन । उनले वसन्तको गीतलाई खानकाहको विशेषता बनाएका थिए । हिन्दूहरुको वसन्त राग सुनेर सुखरो मनमगन भएका थिए, अनि हिन्दी र फारसीका कयौँ शेर रचे । 

उनी पहेलोँ वस्त्र लगाएर वसन्त मनाउन गए र औलियाको दरबारमा गएर भने: अश्क रेज आमदस्त अब्र बहारसाकिया गुल बरेजो बादः बयार

बहार रुपी बादल आँशु बगाउन आउँदै छन् । साकी फूल बर्षाउ अनि मदिरा पिलाउ ।
औलिया पनि मुस्कुराउन थाले । त्यसपछि दिल्लीका दरगाहहरुमा पनि वसन्तको मेला लाग्न थाल्यो ।

आफ्नो ग्रन्थ नूर सिपहरमा खुसरोले संगीतको बारेमा लेखेका छन् :
“हिन्दुस्तानी संगीत आगो हो, जसले मन र आत्मा दुवैलाई जलाउँछ ।”
भारतीय संगीत केवल मनुष्यलाई मात्रै होइन अपितु पशुपन्छीलाई पनि मोहित तुल्याउन सक्षम छ ।

खुसरोले अनेक वाद्ययन्त्रको आविष्कार मा महत्वपूर्ण भूमिका निभाएका छन् । वीणा भारतको पुरानो वाद्य हो । उनले त्यसैका आधारमा तीन तार भएको सेहतार बनाए जसलाई पछि गएर सितार भन्न थालियो ।

वाद्ययन्त्रको क्षेत्रमा भएका यस्ता रचनात्मक परिवर्तनले भारतीय संगीतका दुवै पक्षले लोकप्रियता पायो ।
ढोलक र तबला पनि खुसरो कै आविष्कार मानिन्छ ।

भारतीयसँग वाद्ययन्त्रका रुपमा मादल मात्रै थियो । यो केही लामो हुनाको कारण असुविधाजनक मानियो । खुसरोले यसलाई दुईभागमा विभाजन गरेर तबलाको रुप दिए ।

मादलको लघु रुपमा ढोलक पनि खुसरो कै देन हो । कव्वालीको सारा रौनक यही ढोलकले धान्दछ ।
खुसरोले तबला, ढोलक र सितार आदि वाद्ययन्त्रको आविष्कार गरेपछि यसलाई बजाउने विधि पनि बनाए ।

कव्वाली, होरी, सवारी, दास्तान, परताल, चपक आडा चौताला, झमरा, झपताल, जूबहर आदि ताल पनि खुसरोले नै प्रचलित गराएका हुन् ।

खुसरो वास्तवमा पृथ्वीले जन्माएका त्यस्ता अतुलनीय बौद्धिक सम्पत्तिमा पर्छन्। अतुलनीय बौद्धिक सम्पत्तिमा पर्छन् जो बहुगुणसम्पन्न थिए । 

उनी माणवी, कासीदा, मसाबी, गजल, रुवाई, र संगीत जस्ता क्षेत्रमा पारंगत थिए । खुसरोको रचनाको गणना गर्दा अमीर खुसरोको श्लोकको संख्या ४ लाख ५० हजार भन्दा धेरै मानिन्छ ।