खुसरोको जीवनका बारेमा चर्चा गरिन्छ भने उनका आध्यात्मिक गुरु ख्वाजा निजामुद्दिन औलियाको वर्णन आउनु स्वाभाविक हो । किनकि खुसरोको जीवनमा हामीलाई उनकै प्रत्यक्ष छाप दृष्टिगोचर हुन्छ ।
उनी खुसरोको जीवनाकाशका देदिप्यमान सूर्य समान थिए, जसले आफ्नो प्रकाशले अन्धकाररुपी निराशालाई निल्दछ ।
पहिला निजामुद्दिनको विषयमा थोरै जानकारी हुनु प्रासंगिक हुन आउँछ ।
निजामुद्दिन ले बाबा फरीदसँगको भेटपश्चात् आध्यात्मिक ज्ञानको वरदान पाएका थिए । उनका मातापिताका विषयमा भनिन्छ कि उनकी आमा धर्मनिष्ठ महिला थिइन् । उनको पुरै समय अल्लाहको प्रार्थनामा बित्दथ्यो । उनले जीवनमा अन्तिम बिदा लिँदा छोरालाई भगवानको हाततमा छोडिदिएकी थिइन् ।
अनाथ निजामुद्दिन त्यही दिनदेखि भगवानको आश्रयमा गए ।शेख फरिदको मार्गदर्शनमा दैवी शक्ति पाएपछि औलिया दिल्लीमा बस्न थाले साथै त्यहीँ नै उनको भेट उनका प्रिय शिष्य अमीर खुसरोसँग भयो
खुसरोका पिता वा हजुरबुबा दुवैजना औलियाका प्रिय शिष्य थिए । उनीहरु औलियालाई अति नै सम्मान गर्दथे । खुसरोका पिता चाहन्थे कि उनका पुत्र खुसरो पनि महान सुफी संत हजरत निजामुद्दिन औलियाको शरणमा आएर आफ्नो जीवन धन्य बनाउन्, उनका शिष्य बनुन् । सबै परिवारले पहिल्यै उनको शिष्यत्व ग्रहण गरिसकेको थियो ।
सात वर्षीय खुसरो, जब पहिलोपटक पितासँगै संतको दरगाहमा पुगे, त्यतिबेला पिताले भने :
-“छोरा यो ढोकाले तिमीलाई एउटा सन्तसम्म पुर्याउँछ । जो जीवनका हरेक कठिन क्षणमा तिम्रो रक्षक, तिम्रो मार्गदर्शक हुनेछन् । यदि एकपटक तिमी उनको शरणमा गयौ भने मलाई लाग्नेछ कि मैले पिता हुनुको महान कर्तव्य पुरा गरेँ । मैले त केवल तिमीलाई जन्म दिएको हुँ, तर उनी तिम्रो जीवनरुपी डुँगालाई पार लगाउनेछन् ।”
खुसरोका पिताले यति भनेर उनलाई भित्र लान लाग्दा खुसरो त्यहीँ ढोकामा बसेर भन्न लागे :
-“अवश्य पनि हजुरले जे भन्नुभो त्यो शतप्रतिशत ठिक हो । तर शायद ममा यत्रो योग्यता छैन कि म औलियाको भक्त बन्न सकुँ । त्यहीमाथि भक्त(मुरिद) त त्यही हुन्छ जसले पहिल्यै धारणा बनाएको हुन्छ । मैले त यसबारेमा केही तय गरेको छैन, यसैले आज हजुरमात्रै भित्र जानुस्, म यहीँ बाहिर बस्छु ।”
पिताले हैरान भएर भने :”खुसरो, मलाई तिम्रो यो व्यवहारको कारण थाहा छैन । तिमी भित्र किन जाँदैनौ?”
खुसरोले भने :”यदि औलिया साँच्चिकै सुफी हुन् भने म स्वयं नै उनको शिष्य बन्नेछु ।”
खुसरोका पिता उनको कुरालाई सोचविचार गर्दै भित्र गए तर यता खुसरोले मनमनै आफ्ना भावि गुरुको परिक्षा लिने उपाय सोचे ।
उनले दुइपदको मनमनै रचना गरेर विचार गरे ।
यदि उनी साँच्चिकै आध्यात्मिक शक्तिले ओतप्रोत छन् भने निश्चित रुपमा नै मेरो मनको पुकार उनीसम्म पुग्नेछ र मलाई उनले प्रत्युत्तर दिनेछन् । यदि आज यस्तो सम्भव भयो भने म क्षणमात्रै पनि विलम्ब नगरि उनको शिष्य बन्नेछु ।
उनले शेर बनाए :टोये से शाही के बर ऐबन ए कासरत,कबूतार गर नशीनाद बाज गरदाद ।घडीयाल ए मुस्तामन्डे बर डार अमादबेयल एंडोरन याया बाज गरदाद ।
(तिमी यस्तो शासक हौ, यदि तिम्रो महलको टुप्पोमा परेवा आएर बस्यो भने पनि त्यो तिम्रो असीम अनुकम्पा वा कृपाले बाज बन्दछ । एक गरीब र विनम्र आत्मा तिम्रो ढोकामा आएको छ, उसले प्रवेश गर्नु ठिक हुन्छ या फर्किनु ठिक हुन्छ ?)”
खुसरो अझै विचार गर्दै थिए कि भित्रबाट आएको सेवकले औलियाको तर्फबाट शेर सुनायो:
बेयद एंडरुन मार्ड ए हकीकतके बाए मां याक सांस हमरज गार्डाडआगर अब्ले बुड आन मार्ड ए नादनअजान राहे से आमद बाज गरदाद ।
अर्थात्, जो सत्यलाई खोज्न आउछन् तिनीहरु सच्चा आत्मा हुन् । तिमी भित्र आउ ताकि हामी नजिक हुन सकौँ र विश्वसनीय मित्र बन्न सकौँ । तर यदि तिमी अज्ञानी छौ र कुनै ज्ञान छैन भने तिमी जसरी आएका थियौ त्यसरी नै फकिँदा हुन्छ ।
खुसरोका यी पंक्ति सुन्नेबित्तिकै मानौँ ज्ञानचक्षु खुले । सुफी सन्तले भेटेबिना नै क्षणभरमा उनका मनका कुरा जानेनन् मात्रै कि अपितु उनलाई आध्यात्मिक रहस्यहरु जान्न बुझ्नका लागि निमन्त्रणा पनि दिएका थिए ।
संसारमा कमैमात्र यस्ता सौभाग्यशाली व्यक्ति हुन्छन् जसलाई गुरुले नै स्वयं बोलाउँछन् । खुसरोले आफ्ना गुरुको पाउको धूलोलाई शिरमा लगाउन कत्ति बेर लगाएनन् । त्यही दिन खुसरो निजामुद्दिन औलियाका शिष्य भए र आफ्नो जीवनको अन्तिम साससम्म गुरुसँगको नाता तोडेनन् ।
निजामुद्दिनको कब्र(चिहान) समीप बनेको खुसरोको कब्रले आज पनि त्यही गुरुशिष्यको सम्बन्धको उदाहरण दिन्छ ।
निजामुद्दिनसँग भेट भएको दिन बेलुका खुसरो घर फर्किँदा उनमा एकखालको दिवानापनले छोपेको थियो । खुसरो गहिरो भावावेशमा डुबे, अनि आमाका अगाडि गएर गाउन थालेःआज रंग है री……..मोहे पीर पायो निजामुद्दिन औलिया……..निजामुद्दिन औलिया जग उजियारो…अरे वो तो जहाँ देखो मोरे संग है रीआज रंग है री, मा रंग है रीमेरे महबूब के घर रंग है री ………।
गुरुको साथ पछि त खुसरोको नैसर्गित काव्य प्रतिभामा मानौँ सुनमा सुगन्ध थपिए झैँ भयो । यस विषयमा उनी स्वयं लेख्छन् :-“जब म आठ बर्षको थिएँ, मेरो कविताको तीव्र उडानले आकाशलाई छुन्थ्यो । त्यतिबेला मेरो मुखबाट दिप्तिमान मोति वर्षिन्थे ।”
औलियाको आशिर्वादले उनको काव्य प्रतिभामा प्रेमको उदात्त स्वरुप वा सुफी भावलाई समावेश गरिदियो । त्यसको केही समयपछि खुसरोले आफ्ना निकटजनको वियोगलाई सहनु पर्यो । पहिला पिता, त्यसपछि हजुरबुबाको मृत्युले उनलाई आजीविकाका लागि दरबारको शरण लिनुपर्यो । दरबारमा उनी आश्रयदाताका लागि शेर रच्दथे भने कहिलेकाहीँ युद्धभूमिमा पनि जान्थे । तर यी सबैको कारणले उनले गुरुको साथ छोडेनन् । सबै सांसारिक कर्मबाट मुक्त हुनेबित्तिकै गुरुको दरबारमा हाजिरी लगाउन गइहाल्थे ।
आफ्नो साहित्य रचनाको शिलशिलामा खुसरोले गुरुका वचन र उपदेशहरुलाई “अफजलुल फवायिद” नामको पुस्तकका रुपमा संकलित गरेका छन् । उनले ग्रन्थ तयार भएपछि गुरुका सेवामा राख्दै भने:-
“यो सबै हुजुरको कृपाको फल हो । मेरो श्रेष्ठताको सारा श्रेय हजुरलाई नै जान्छ ।”
औलिया उनको विनम्रताले प्रसन्न भए । गुरुशिष्यको यो प्रेम सम्बन्ध अत्यन्त गहिरो थियो । एकपटक खुसरोले हजरत निजामुद्दिन को प्रशंसामा एउटा कसीदा लेखे । त्यो सुनेर उनी प्रशन्न भएर नाचे अनि खुसरोलाई सोधे :
माग, खुसरो के माग्न चाहन्छौ?अमीर खुसरोले भने : “हजरत, मेरो काव्यमा मधुरता र कसक साथसाथै आउन् ।”
हजरतले भने : “खाटमुनि राखेको थालमा शक्कर छ । त्यसबाट अलिकति शक्खर चाख ।”
त्यो शक्कर खाएपछि खुसरोको काव्यमा यति तागत आयो कि सुन्नेहरु मन्त्रमुग्ध हुन थाले ।
हजरतले आफ्नो शिष्यलाई दिलबाटै चाहन्थे । उनी गर्वका साथ भन्थे “जब भगवान् ले मलाई के लिएर आइस् भनेर सोध्नेछ तब म अमीर खुसरोलाई उनका अगाडि पेश गर्नेछु ।”
हजरत भन्दथे “खुसरो मेरो तुर्क हो । यो तुर्क को दिलमा बलेको आगोले कयामतको दिनमा मेरो नाम नाम-ए-आमाल पवित्र हुनेछ ।”
खुसरोको पनि गुरु प्रतिको लगन कम थिएन । उनी एकपटक कुनै यात्राबाट दिल्ली फर्किइरहेका थिए । विश्रामका लागि एउटा स्थानमा बसेका थिए अनि आफ्नो सेवकलाई भन्न थाले :
मलाई मेरा गुरुको सुगन्ध आइरहेको छ ।
-हुजुर यस्तो मरुभूमीमा गुरु कहाँबाट आउनु ?
होइन, गुरु यहीँ आसपास हुनुन्छ । खुसरोले फेरि भने ।
सेवकले भन्न थाल्यो “तपाईंले कयौँ दिनदेखि गुरुलाई नभेटेको भएर यस्तो लागेको होला । गुरुले पनि तपाईंलाई याद गरिरहनुभएको भएर यस्तो लागेको नी हुन सक्छ ।”
खुसरो केहीबेर उसको कुरा सुनेर चुपलागे तर एकछिनपछि फेरि भन्न थाले :” तर म गुरुको सुगन्धलाई अस्वीकार कसरी गरौँ ? मलाई पुरा विश्वास छ कि उहाँ यहीँ कतै हुनुन्छ ।”
खुसरोको बेचैनी यति बढ्न थाल्यो कि उनी उँटबाट झरेर यता उता खोज्न थाले । सेवकले पनि यताउता खोजिरहेको थियो । त्यहिँ नजिकै एउटा वृक्षको तल दीनहीन व्यक्ति लडिरहेको देखे । खुसरो सिधै त्यहीँ पुगे । उसलाई सोधपुछ गरेपछि थाहा पाए कि उसले देहलीका हजरत निजामुद्दिन औलियाको दरबारमा हाजिरी लगाएर आएको हो । ऊ त्यहाँ आफ्नी पुत्रीको बिहेका लागि सहयोग पाउने आशमा गएको थियो ।
उसले खुसरोलाई बतायो “मैले त्यहाँ गएर हुजुरमा फरियाद(पुकार) लगाएँ कि मेरी छोरीको बिहेका लागि मदद गर्नुस् ।” पहिलो दिन औलियाले उसलाई मद्दत दिनबाट अस्वीकार गरे ।
उनले “आज त केवल अल्लाहको नाम मात्रै छ । आज केही छैन । भोलि विचार गरौँला ” भने ।
धनको आशमा त्यो व्यक्ति त्यहीँ बस्यो । दोस्रो दिन पनि गुरुसँग दिनका लागि केही थिएन । अन्ततः तेस्रो दिनमा उनले “चाहँदाचाहँदै पनि सहयोग गर्न सकिन लौ मेरो यो जुत्ता लिएर जाउ । यसले तिम्रो काम बन्नेछ ।” भनेर आफ्नो जुत्ता निकालेर दिए ।
त्यो व्यक्तिले जुत्ता लियो । तर यत्रो ठूलो दरबारबाट यो कस्तो सहायता होला भन्दै हिँड्यो । जाबो जुत्ताले के काम बन्ला ? उ यही आशमा थियो कि, जुत्ता बिक्री होस् र घरपरिवारका अगाडि उसको इज्जत रहोस् ।
अमीर खुसरोले उसको हात चुमे अनि “भाग्यमानी रैछस् भाइ । मेरो गुरुको दर्शन गरेर आइछस् । उनको जुत्ता लिएर बसेको छस् । त्यही भएर त मलाई गुरु यतै कतै भएको जस्तो लागिराको । उनको गन्धले मलाई व्याकुल बनाएको छ ।”
त्यो व्यक्तिले आँखा फारेर खुसरोलाई हेर्न थाल्यो ।
खुसरोले यो जुत्ता मलाई बेच भन्न थाले । त्यो व्यक्तिले चाहेको पनि यस्तै थियो । त्यो व्यक्तिले जुत्ताको बदलामा सय दुईसय रुपैयाँ माग्नुभन्दा पहिले नै खुसरोले उसको हातमा पाँचलाख जो उनलाई कुनै सुलतानले भेट गरेको थियो, हालिदिए ।एउटा सुफीको मुखबाट निस्केको वचन कसरी असत्य हुन सक्थ्यो ? उनले भनेकै थिए यो जुत्ताले बिहेको सबै प्रबन्ध हुनेछ ।
उसले त्यो रकम लियो अनि खुसरोलाई धन्यवाद दिएर हजरत निजामुद्दिन औलियाको गुणगान गर्दै आफ्नो बाटो लाग्यो ।खुसरो पनि आफ्ना गुरुको जुत्ता पाएर प्रसन्न थिए । उनले त्यसलाई शिरमा राखे अनि गुरु भएठाउँमा गए । उनले घटनाको सबै वृत्तान्त गुरुलाई बताए ।
गुरुले भने “तिमीले त सस्तोमा किनेछौ खुसरो।”
खुसरोले विनीत भावमा भने “हुजुर यदि उसले सारा धन र प्राण नै पनि माग्थ्यो भने म न्यौछावर(त्याग) गरिदिन्थेँ ।”
औलिया मुस्कुराए मात्रै, तर मनमनै आफ्नो दिवाना भक्तको त्याग र आत्मसमर्पणको भावलाई प्रशंसा नगरी रहन सकेनन् । सबै गुरुशिष्यको यस्तो प्रेमबन्धनसँग परिचित थिए ।
औलिया कसैसँग रिसाए या आफ्नो दरबारमा आउन अनुमति दिएनन् भने सबैले सिधै गएर खुसरोसँग मद्दत माग्दथे । किनकि सबैलाई पूरा विश्वास थियो कि खुसरोले कुनै न कुनै तरिकाले रिसाएका गुरुलाई फकाइहाल्छन् ।
एकपटक सन्त निजामुद्दिन चिश्ती(खुसरोका गुरु) कुनै कुराले शेख बुराहानुद्दीन सँग रिसाएका थिए । बुराहानुद्दीनले खुसरोको सहायता मागे ।
खुसरोले शेखको हात समातेर गुरुभएठाउँमा लिएर गए अनि दोहा पढे :”खुसरो मौला के रुठते, पीर के सरने जायकहे खुसरो पीर के रुठते मौला नहीँ होत समाय ।”
यति सुन्नेबित्तिकै पीरले दुवैलाई अंगालोमा बेरे र शेखलाई माफि पनि दिए ।
खुसरोका दोहामा आध्यात्मिक भावनाको सहज अभिव्यक्ति पाइन्छ । उनी भन्दछन् अल्लाह त अत्यन्त गुणी छ तर म जीव नै दुर्गुणले भरिएको छु । म आफ्नो अवस्था देखेर रुन्छु कि कुनै प्रकारले भगवानले मेरो अवगुण हटाइदिउन् ः
देख मैं अपने हाल को रोऊं जार ओ जारवै गुणवंता बहुत है, हम हैं औगुनहार ।
प्रायः खुसरो आफ्ना आदरणीय गुरुका साथ बाहिर जान्थे । एकपटक उनी जमुना नदीको किनारमा वुजू(नमाज अघि गर्नुपर्ने पञ्चाङ्गस्नान) गरिरहेका थिए । अचानक हजरतको नजर नदीको अर्को किनारातिर पर्यो त्यहाँ हिन्दू नरनारीहरु भावविभोर भएर प्रभुको गुणगान गरिरहेका थिए । यो देखेर हजरत मोहित भए र उनको मुखबाट निस्कियोः
हर कौम रास्त राहे दीने व किब्ल गाहेसंसार हर को पूजे, कुल को जगत सराहे ।।
खुसरो पनि उनको नजिकै उभिएका थिए । उनले पनि त्यो दृश्य देखेका थिए तथा गुरुको मुखबाट निस्केका पंक्ति सुनेपछि उनले फारसी हिन्दीमा पूरा गर्दै भनेः
मन किब्ला रास्त करदम बर स्मित ए कज कुलाहे ।मक्के में कोई ढूंढे, काशी को कोई चाहे ।।
मेरो लागि त ईश्वर प्राप्तिको मार्ग भनेको गुरुको माध्यम नै हो । जो मेरो अगाडी छड्के टोपी लगाएर बसेका छन् । कोही मक्कामा खुदा खोजिरहेका छन् त कोही ईश्वर प्राप्तिका लागि काशी खोज्दछन् । परन्तु ईश्वर त हामी भित्र छ । हाम्रो हृदयमा बसेको छ ।
खुसरो दरबारमा बसेर राजा महाराजाहरुका लागि शेर लेखेपनि उनको विचारमा सँधै गुरुका लागि केही न केही रहिरहन्थ्यो । उनी गुरुका बारेमा लेखिरहन्थे । एक मसनवी मा उनी लेख्छन् :
“एउटा अचम्मको कुरा भयो । बादशाहको पदका लागि बाउ छोराको झगडा भयो । बादशाह के हो ? आज छ भोलि छैन । यस्तो केही लेखिएको छ कि आज पनि मजा देओस् अनि त्यो भोलि पनि रहिरहोस् ?
मलाई त यही चिन्ता छ कि यहाँ मेरा गुरुको नाम कसरी लेखुँ ? मेरो दिलका बादशाह त उनै हुन् । र पनि मेरो कवितामा उनको नाम आउँदैन भने के मजा ? ख्वाजा सँग बादशाह रिसाएको छ ।बादशाहहरु आए गए ।”
युद्धको मैदानमा रगत बगिरह्यो । विजयोत्सव मनाइयो । खुसरो यस्तो वातावरणका बीच पनि सांसारिकता वा आध्यात्मिकताको सन्तुलनलाई मिलाएर बाँचिरहे ।
ती दिनमा अलाउद्दीन खिलजीसँग थिए खुसरो । उसले जहाँ गएपनि खुसरोलाई सँगै लिएर हिँड्थ्यो । तर खुसरो भने आफ्ना गुरुको चरणमा बस्न रुचाउँथे ।
हजरत निजामुद्दिन औलियाको सुफी दरबारमा जाने सबैले खाना खान पाउँथे । त्यो ढोकामा पुगेपछि कोही भोकै फर्किँदैनथ्यो । हजरत स्वयं भने रातीमा जौ को बासी रोटी पानीमा भिजाएर एकटुक्रा खान्थे । खान्थे अनि आँशु बगाउँथे । हरेक क्षण यही सोच्थे कि जबसम्म आफू वरिपरि भएका व्यक्ति भोकै हुन्छन् त्यतिबेलासम्म म कसरी खान सक्छु ? मैले त्यस्तो अधिकार राख्नै सक्दिन ।
दरबारमा अनगिन्ती दौलत आउँथ्यो । हजारौँ व्यक्तिले दुवै समय लंगरमा खान्थे, तर हजरत आफू भने आफ्नो फकिरी बादशाहीमा मग्न रहन्थे ।
अलाउद्दीनलाई कुरा लगाइयो । उसलाई पीरको खानकाहमा यतिधेरै धन कहाँबाट आउँछ भन्ने जान्नु थियो । उ त कहिल्यै पीरकहाँ गएको थिएन । उसले भेष बदलेर पीर कहाँ जाने विचार गर्यो, यो कुरा खुसरोलाई पनि बतायो ।
खुसरोले त्यही दिन राती यो कुरा गुरुलाई बताउँदा उनले भने “खुसरो तँलाई ज्यानको माया छैन ? मेरो राज बादशाहलाई बताइदिइस् ?”
खुसरोले पीरको चोगा चुमे अनि भने “मालिक, बताउँदा केवल ज्यानको खतरा थियो, बताउँदैनथे भने त इमानै जान्थ्यो ।”
त्यही दिन बेलुका पीरले शिष्यलाई भोजनको निमन्त्रणा दिए । सुलतानको शाही भोजनका अभ्यस्त खुसरो पीरका साथमा बासी रोटीको अन्न पाएर धन्य भए ।
पीर औलियाले पनि सुलतानका सयौँ रंग देखे । गद्दीमा बादशाह कुतुबुद्दीन मुबारक शाह खिलजी बस्यो । खुसरोको नामसँग जल्नेले उसलाई भड्काए । खुसरोका गुरु औलियाले कहिल्यै पनि सुलतानहरुलाई सलाम पेश नगरेको कुरा लगाए । सुलतानको रिस सबैभन्दा पहिला खुसरोमाथि पर्यो ।
शायर खुसरो! तिम्रा गुरुका बारेमा धेरै कुरा सुनिएको छ । तिम्रा गुरु कुनै विशेष होइनन् । उनले आजसम्म हामीलाई सलाम हाजिर गर्नेसम्म फुर्सद मिलेन ?
खुसरोले विनयी भावमा भने “मालिक ! मेरा गुरु त पीर फकिर पो हुन् । उनलाई दरबारसँग के काम? रुहानी धनसम्पत्तिको त उनलाई खासै जरुरत पनि पर्दैन । दिन रात अल्लाह अल्लाह रटिरहन्छन् । भोकालाई भोजन गराउँछन् । दुःखीको दुःख हर्छन् । आफ्नै धूनमा रहन्छन् ।”
“त्यसोभए आफ्नै धुनमा रहनेवालालाई सन्देश पठाउ कि नयाँ चन्द्रमापछिको जुम्माको बिहान दरबारमा आउन् । नत्र म भन्दा खराब कोही हुनेछैन । हाम्रो कृपामा पालिएर हामीलाई नै केही नसोध्ने ?”
त्यस्तो मन्दबुद्धि बादशाहलाई खुसरोले के सम्झाउनु ? उनका पीर कहिले पो कुन बादशाहको कृपामा बाँचेका थिए र ? अर्को चन्द्रमाको रात आयो तर कसैले त्यो राजाको टाउको शीरबाट अलग गर्दियो ।
त्यसपछि गद्दीमा बस्यो गयासुद्दिन तुगलक । आउँदाआउँदै उसले खजाना खुलायो । दिल्लीको खजाना खाली देखेर उ त रिसायो । बैठक बोलाएर सबैलाई सोध्यो, दुइ सय बर्षदेखि जम्मा गरेको खजाना खोइ ?
खोजतलाश गर्दा पत्ता लाग्यो कि सबै धनसम्पत्ति त मन्त्रीहरु, सिपाही, अमीर र फकिरहरुमा बाँड्दा सकियो ।
फकिरको नाम आउने बित्तिकै निजामुद्दिन औलियाको नाम आइहाल्यो । रिसाएको बादशाहले सारा रिस उनैमाथि खन्यायो । एउटा मन्त्रीले खुसरोलाई पनि षड्यन्त्रको पात्र बतायो ।
“हुजुर यी त खुसरोका गुरु हुन् । दुईहजार जनाका लागि सँधै खाना पकाउँछन् । मिठो मिठो भोजन र नाचगान चल्छ । थाहा छैन यतिधेरै सम्पत्ति आउँछ कहाँबाट ? पक्कैपनि शाही खजाना लुटेको हुनुपर्छ ।”
बादशाहले भन्यो “म युद्धका लागि जानु छ । म खुसरोलाई सँगै लिएर जान्छु । तिमीहरु त्यो पीरफकीरलाई सन्देश पठाओ कि म फर्किँदासम्म उ यहाँबाट उठेर भागोस् । म अब मेरो शहरमा घुस, भ्रष्टाचार चल्न दिन्न । खुब आए पीरीफकीरी देखाउनेहरु, भोकालाई खाना खुवाउने हरु, अल्लाहका प्रिय बन्न खोज्छन् । सबै अकड झार्दिइन भने मेरो नाम पनि गयासुद्दिन होइन ।”
निजामुद्दीन औलिया कसैसँग डराउनेवाला थिएनन् । बादशाह युद्ध जितेर आयो तर उनी त्यहाँबाट हटेनन् । अर्को दिन बिहान लावालश्करका साथ विजयोत्सव मनाउनेवाला थियो ।
शिष्यहरुले हात जोडे “गुरुजी हामीले भनेको मान्नुस्, यहाँबाट निस्किउँ । बादशाह भोलि दिल्ली आउँदै छ, आयो भने हामीलाई बाँकी राख्दैन । महाको अत्याचारि छ त्यो ।”
हजरज निजामुद्दीन औलियाले मुस्कुराए अनि भने ःहनोज दिल्ली दूरस्त (दिल्ली अभी दूर है, दिल्ली अझै टाढा छ ।)
अर्कोदिन बिहान तुगलकले महलमा पाइला राख्नेबित्तिकै छत खस्यो र त्यहीँ दबीएर त्यो मर्यो ।
शिष्यहरु त यो तमाशा देखेर छक्क परे । खुसरो आफ्ना गुरुको पाउमा लम्पसार परे । हजरत निजामुद्दीन औलियाले उनलाई अंगालो हालेर भने “आउ खुसरो! तिमीसँग केही कुरा गर्नुछ ।”
खुसरो गुरुसँगै उनको कक्षमा गए । दुवै आमुन्नेसामुन्ने भएर बसे । कोही केही बोलेन । त्यही मौनतामा थाहा छैन कति कुराहरु भए । केही बेरपछि खुसरो उठेर गए । त्यो दिन खुसरो निकै प्रशन्न थिए । मानौँ गुरुले उनलाई सातलोकको धन दिएका होउन् ।
खानकाहबाट निस्किँदा सेवक दौडेर आयोहुजुर ! बोलाउनु भएको हो ?खुसरोले भित्र गएर भने :ख्वाजा जी हजुरले मलाई बोलाउनु भएको हो ?-लौ यो खिरका राख खुसरो । चाहन्छौ भने तिमीपनि सुफी सन्तले झैँ शिष्य बनाउ ।
खुसरोले त्यो खिरकालाई चुमेर शीरमा धारण गरेर झुम्दै नाच्दै घर फर्किए । आज उनका गुरुले उनलाई आफ्नो बनाएका थिए ।
भनिन्छ कि गुरु र शिष्यको यो बन्धन एकतर्फी हुँदैन । यदि शिष्यले सबैकुरा गुरुका लागि त्याग गर्छ भने गुरुले पनि आफ्नो सबै स्नेह शिष्यमाथि बर्षाउनमा कुनै कमी राख्दैनन् ।औलिया अक्सर खुसरोलाई भन्दथे “तिमी मेरो लामो उमेरको आयु माग, किनकि मेरो उमेर तिम्रो उमेरसँग जोडिएको छ । मलाई मर्नेकुराले दुःखी बनाउँदैन, दुःख त यो कुराको लाग्छ कि म मरेँ भने तिमी पनि बाँच्ने छैनौ । म तिमीलाई अझै जीवित देख्न चाहन्छु ।”
औलिया बीरामी हुन थालेका थिए र खुसरो चाहि बंगालमा थिए । उनी दिल्ली फर्किँदै गर्दा औलियाले यो संसार छोडिदिए । खुसरो पागल जस्तै भएर विलाप गर्न थाले, उनी पीरको कब्रमा गएर करुण शब्दमा बोल्न थाले :
गोरी सोवत सेज पर मुख पर डारे केस ।चल खुसरो घर आपने, रैन भई चहुं देस ।
“मेरा औलिया मृत्युरुपी आवाजको गहिरो नीदमा कब्ररुपी बिस्तारामा सुतेका छन्, उनको केश उनको मुखमा बिखरीएको छ । जसले संसारमा चारैतिर अन्धकार छाएको छ । ए खुसरो! अब तँ पनि आफ्नो असली घर अर्थात् ईश्वरको घर जानुपर्छ ।”
खुसरोले आफ्नो सारा धनसम्पत्ति गरीबहरुलाई बाँडे । उनी पुरा रुपमा विक्षिप्त भएका थिए । औलियाले गलत भनेका थिएनन् । आफ्ना पीरसँगको बिछोडको एकएक क्षण उनका लागि असह्य भइरहेको थियो ।
उनी शोकसूचक कालो वस्त्र लगाएर गुरुको कब्र वरिपरी साफसफाई गर्थे । मुखबाट केवल यही शब्द निकाल्दथे:
आफताब जमीं में छिप गया व उसकी किरणें सिर धुनती फिरें ।
यसरी नै छ महिना पनि पूरा हुन पाएको थिएन खुसरोले पनि यो संसारलाई अलबिदा भने । पीरको वसीयत अनुसार उनको समाधि पनि त्यहीँ नजीकै बनाइयो । आज पनि दिल्लीको हजरत निजामुद्दिनको कब्र सँगै अमीर खुसरोको कब्र छ । सुफी सन्त, कव्वाल र औलियाका अनुयायी जब दरगाहमा आउँछन् तब औलियाका प्यारा खुसरोलाई पनि श्रद्धासुमन अर्पण गर्छन् । खुसरोले लेखेका कव्वालीमा जब त्यहाँ बसेका सुफीहरु झुम्दछन्, यस्तो लाग्छ कि खुसरो कहीँ गएका छैनन् । उनी आज पनि औलियाको शानमा केही भनिरहेकै छन् ।